टीयू क्रिकेट रंगशाला हट्दैन: सरकारका प्रवक्ता

70
Shares

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान हटाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त मैदान यथावत रहने बताएका हुन्।

पोखरेलका अनुसार यस विषयमा आफूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरिसकेको र मैदान खाली गराउने उद्देश्य सरकारको नभएको बताए ।

‘लिज सम्झौता अवधि सकिएकाले त्यसलाई नयाँ ढङ्गले पुनः व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो । त्यसका लागि सकारात्मक ढङ्गले संवाद भइरहेको छ,’ उनले भने ।

राज्यले ठूलो लगानी गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले मैदान खाली हुने सम्भावना नरहेको पनि बताए ।

यसैबीच उनले सरकारको ३० दिनको कार्यसम्पादनबारे आफूले समीक्षा गरिरहेको जानकारी दिए । उनका अनुसार प्रारम्भिक ३० दिनका अधिकांश कामहरू अघि बढिसकेका छन् भने अब १०० दिनको लक्ष्यतर्फ सरकार केन्द्रित भइरहेको उनको भनाइ छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघलाई ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन वैशाख ४ मा त्रिविले ३५ दिनको सूचना निकालेको थियो । सोही अन्तर्गत क्रिकेट रगंशाला पनि परेको हो ।