स्वदेशी किवी वाइन उद्योग जोगाउन ८० प्रतिशत अन्तःशुल्क छुटको माग

224
Shares

काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा सञ्चालित किवी उत्पादन तथा प्रशोधन केन्द्रले स्वदेशी फलफूलमा आधारित वाइन उद्योग जोगाउन सरकारसँग अन्तःशुल्कमा ८० प्रतिशत छुटको माग गरेको छ ।

उद्योगले स्वदेशी कच्चा पदार्थ किवीबाट उत्पादन हुने वाइनमा लाग्दै आएको उच्च अन्तःशुल्कका कारण स्थानीय उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै आगामी बजेटमार्फत विशेष सहुलियत आवश्यक रहेको जनाएको हो ।

वसन्तपुर तिनजुरे वेभरेज प्राइभेट लिमिटेड (किवी उत्पादन तथा प्रशोधन केन्द्रका सञ्चालक अध्यक्ष दुर्गामणि पौडेलका अनुसार करीब नौ वर्षअघि स्थापना भएको उक्त उद्योगले कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ र धनकुटाका किसानबाट किवी खरिद गरी प्रशोधन गर्दै आएको छ ।

यसले स्थानीय किसानलाई बजार उपलब्ध गराउँदै आएको भए पनि कर नीतिका कारण लगानी नै जोखिममा परेको उद्योगको भनाइ छ ।

आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत स्वदेशी फलफूलबाट निर्मित १२ देखि १७ प्रतिशत अल्कोहलयुक्त पेय पदार्थमा ५० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्था गरिएको थियो । तर २०७५ सालमा उक्त व्यवस्था हटाइएपछि स्वदेशी उद्योग थप समस्यामा परेको उद्योगले जनाएको छ ।

उद्योगका अध्यक्ष पौडेलले स्वदेशी र आयातित फलफूलबाट बन्ने वाइनमा समान कर दर कायम गरिँदा स्थानीय उत्पादन प्रतिस्पर्धाहीन बनेको बताए ।

उनका अनुसार अहिले एक लिटर किवी वाइन उत्पादन गर्दा अन्तःशुल्क, कच्चा पदार्थ, बोतल, लेबल, श्रमिक र मूल्य अभिवृद्धि करसमेत जोड्दा लागत अत्यधिक बढेको छ ।

उनका अनुसार १ लिटर वाइन उत्पादन गर्दा अन्त शुल्क ४६०, किवी प्रति किलो १२०, वोतल, लेभल र बिर्को खर्च १०५, श्रमिक र कन्सल्ट्यान्ट र श्रमिक खर्च १०० र भ्याटसहित लागत खर्च ९२१ रुपैयाँ पर्छ । यसपछि ढुवानी खर्च र बिक्रेता कमिशन खर्च गरी करिब १२०० रुपैयाँ पर्न आउने पौडेलले जानकारी दिए ।

यो मूल्यमा भने उद्योगीको नाफा भने जोडिएको छैन । पौडेलका अनुसार देशकै पहिलो किविमा आधारित यो उद्योग चर्को अन्त शुल्कका कारण उत्पादन गर्न समस्या भएको छ ।

उद्योगले हाल ६५ किसान परिवारको करिब ४०० रोपनी र आफ्नै १०० रोपनी गरी ५०० रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती विस्तार गरेको जनाएको छ ।

किवी खेती लगाएको पाँच वर्षपछि मात्र उत्पादन सुरु हुने भएकाले किसानको लगानीसमेत जोखिममा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

उद्योगले सरकारले स्वदेशी फलफूलमा आधारित प्रशोधन उद्योगलाई प्रोत्साहन नगरे किसानले उचित मूल्य नपाउने, स्थानीय रोजगारी घट्ने र आयात प्रतिस्थापनको लक्ष्यसमेत प्रभावित हुने चेतावनी दिएको छ ।

उद्योगले आगामी बजेटमार्फत किवी वाइनमा लाग्ने अन्तःशुल्कमा ८० प्रतिशत छुट दिई प्रतिलिटर १२० रुपैयाँ मात्र शुल्क कायम गर्न सरकारसँग आग्रह गरेको छ । साथै ‘तिनजुरे बगान’ ब्रान्डको किवी वाइन बजारमा ल्याउने अन्तिम तयारी भइरहेको पनि उद्योगले जनाएको छ ।

किवी खेतिदेखि वाइन प्रशोधन उद्योगसम्म गरी १५ करोड रुपैयाँको लागत लागि सकेको छ । यो उद्योगले किवी क्यान्डी र ड्राई जीविका साथै कीबिमा आधारित परीक्षण उत्पादन गरी रहेको छ । उक्त उद्योगबाट तिनजुरे बगान ब्रान्डमा वाइन उत्पादन हुने गरेको छ ।