सांगाई युनिभर्सिटीको प्रमाणपत्रका आधारमा दिइएको समकक्षतामाथि छानबिन गर्दै त्रिवि, ९८ जनाको माग्यो कागजात

266
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले भारतको सांगाई इन्टरनेसनल युनिभर्सिटीबाट जारी शैक्षिक उपाधिका आधारमा दिइएको समकक्षताबारे छानबिन अगाडि बढाएको छ ।

केन्द्रले भारतको मणिपुर राज्यस्थित युनिभर्सिटीबाट जारी प्रमाणपत्रहरूका आधारमा दिइएका ९८ जनाको समकक्षतामाथि छानबिन अगाडि बढाएको जनाएको छ।

केन्द्रका अनुसार भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा सार्वजनिक सूचना जारी गर्दै उक्त विश्वविद्यालयलाई मान्यता सूचीबाट हटाएको थियो । साथै, सो युनिभर्सिटीबाट प्रदान गरिएका शैक्षिक उपाधिहरू उच्च शिक्षा तथा सरकारी रोजगारीका लागि अवैध ठहर गरिएको उल्लेख छ । यही आधारमा त्रिभुवन विश्वविद्यालयले पनि सो युनिभर्सिटीले प्रदान गरेको प्रमाणपत्रका आधारमा लिइएका समकक्षता पत्रहरू पुनः परीक्षण गर्न थालेको हो ।

केन्द्रले ९८ जनाको विवरणसहित समकक्षता पत्रको सक्कल प्रतिलिपि मगाएको छ । केन्द्रले समकक्षता प्राप्त गरेका व्यक्तिहरूलाई ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कल प्रतिलिपि र सम्बन्धित शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने प्रमाणसहित उपस्थित हुन भनेको छ । तोकिएको समयभित्र आवश्यक कागजात पेश नगरेमा समकक्षता स्वतः खारेज हुने र प्रचलित नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।