एनएमबि बैंकले पायो जर्मनीको ‘एसटीपी अवार्ड २०२५’

7
Shares

काठमाडौँ । एनएमबि बैंक जर्मनीको प्रतिष्ठित ‘स्ट्रेट थ्रो प्रोसेसीङ’ ‘एसटीपी’ अवार्ड २०२५ बाट सम्मानित भएको छ ।
व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीले बैंकलाई यो अवार्ड प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रधान गर्ने सीमित बैंकहरू मात्र प्रदान गरिन्छ । यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने बैंकको निरन्तर प्रयासको उपलब्धि यो अवार्ड भएको बताए । उनले भने,‘उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।’ यस उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको घिमिरेको भनाइ छ ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।