
काठमाडौं । वैदेशिक मुद्रा सञ्चिति जोगाउन र इन्धनको खपत कम गर्न सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि यसको नतिजा भने रोचक र चुनौतीपूर्ण देखिएको छ ।
नेपाल आयल निगमको पछिल्लो तथ्याङ्कअनुसार यो अवधिमा औद्योगिक र निर्माण क्षेत्रमा प्रयोग हुने डिजेलको खपतमा उल्लेख्य गिरावट आए पनि निजी सवारी साधनमा प्रयोग हुने पेट्रोलको खपत भने उल्टै बढेको पाइएको छ ।
सरकारले गत २३ चैतदेखि लागु हुने गरी शनिबार र आइतबार बिदा दिने नीति ल्याएको थियो ।
इन्धनको अन्तर्राष्ट्रिय मूल्य आकाशिएपछि सरकारले खपत घटाउन सरकारी कर्मचारीको इन्धन सुविधामा समेत ५० प्रतिशत कटौती गरेको थियो ।
तर, निर्माण क्षेत्रमा आएको मन्दीले डिजेलको खपत घटाए पनि विदाको संस्कृतिले पेट्रोलको खपतमा सोचेजस्तो कमी ल्याउन नसकेको निगमको तथ्याङ्कले पुष्टि गरेको छ ।
निगमका अनुसार चैत २२ देखि वैशाख ७ सम्मको १५ दिनमा पेट्रोलको खपत २९ हजार २४९ किलोलिटर पुगेको छ, जुन अघिल्लो १५ दिन ९चैत ७ देखि २१ सम्म० को तुलनामा एक हजार किलोलिटरभन्दा बढी हो ।
यसअघि सोही अवधिमा २८ हजार २१६ किलोलिटर पेट्रोल खपत भएको थियो ।
पेट्रोलको खपत बढिरहँदा डिजेलको मागमा भने भारी गिरावट आएको छ । चैत २१ सम्म ६९ हजार ५६७ किलोलिटर डिजेल खपत भएकोमा वैशाख ७ सम्म आइपुग्दा यो परिमाण घटेर ५६ हजार २२७ किलोलिटरमा खुम्चिएको छ ।
१५ दिनकै अन्तरमा डिजेलको खपत करिब १३ हजार किलोलिटरले घट्नुलाई अर्थपूर्ण मानिएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेका अनुसार डिजेलको खपत घट्नुको मुख्य कारण इन्धनको मूल्यवृद्धिले विकास निर्माणका कार्यहरू ठप्प हुनु हो ।
‘डिजेल र अलकत्राको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका ८० प्रतिशत विकास निर्माणका काम रोकिएका छन्,’ पाण्डेले भने, ‘प्रतिलिटर ९० रुपैयाँ पर्ने अलकत्राको मूल्य १८० रुपैयाँ पुगेको छ, जसले गर्दा निर्माण क्षेत्र शिथिल बनेको हो ।’
निर्माण सामग्रीको ढुवानी लागत बढ्दा बजारमा डिजेलको माग स्वतः घटेको उनको विश्लेषण छ ।
दुई दिने सार्वजनिक बिदाका कारण सरकारी गाडीहरू थन्किए पनि निजी सवारी साधनको चहलपहल बढ्दा पेट्रोलको खपत बढेको निगमको बुझाइ छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बिदाको समयमा सर्वसाधारणहरू निजी सवारीमा घुमफिर र सामाजिक गतिविधिमा सक्रिय हुँदा पेट्रोलको माग बढेको हुन सक्छ ।
सामान्य अवस्थामा मुलुकभर दैनिक २२ सयदेखि २५ सय किलोलिटर पेट्रोल र ४५ सयदेखि ५ हजार किलोलिटर डिजेल खपत हुने गर्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक ७ सय किलोलिटरसम्म पेट्रोल खपत हुने गरेको तथ्याङ्क छ ।









प्रतिक्रिया