
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले एकै वर्ष साढे २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ४९ करोड रुपैयाँ, सन् २०२२ मा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको कारोबार सन् २०२४ मा २५ प्रतिशत र सन् २०२५ मा ३३ प्रतिशतले बढेको उल्लेख छ । सोही ट्रेन्डमा चालु आवको ६ महिनाको अवधिमा पनि कारोबार बढेको छ ।
अस्पतालले प्रतिस्पर्धात्मक सेवा शुल्कले बिरामीलाई आकर्षण गर्ने जनाएको छ । गत आवमा पनि बिरामीको संख्या बढ्दा कारोबार बढेको अस्पतालको भनाइ छ । बिरामीको संख्याले अस्पतालको कारोबार, फार्मेसीको कारोबार र पाथोलोजी सेवाको कारोबारलाई थप सकारात्मक बनाएको उल्लेख छ ।
सन् २००९ मा स्थापना भएको कम्पनीले मेडिकल कलेज र टिचिङ अस्पताल सञ्चालन गर्दै आएको छ । काठमाडौंको सिनामंगलमा रहेको मेडिकल कलेज काठमाडौं विश्वविद्यालयसँग सम्बद्ध रहेको छ ।
मेडिकल कलेजले मेडिकल र पारामेडिकल कोर्स जस्तै डीएम/एमसीएच, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ आदि शिक्षण दिँदै आएको छ । कम्पनीले मेडिकल कलेजसँगै सिनामंगल र दुवाकोटमा ५ सय शैय्याको टिचिङ अस्पताल सेवा दिँदै आएको छ ।
गत आवमा विदेशी विद्यार्थीको कोटाका लागि शुल्क संशोधन गरी ३३ प्रतिशत पुर्याएकाले कलेजको आम्दानी वृद्धि भएको छ । कम्पनीसँग शुल्क निर्धारण गर्ने लचकता भए पनि ७५ हजार अमेरिकी डलरको नियामक सीमाभित्र रहनुपर्छ ।
साथै, यस शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रमको सिट संख्या १०० बाट ३०० पुर्याएकाले यसले क्रमशः मेडिकल कलेज खण्डको आम्दानी प्रोफाइलमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । गत आवमा कम्पनीले करिब २९ प्रतिशत सञ्चालन मुनाफा मार्जिन कायम राखेको छ ।
नेपाल सरकारले स्वास्थ्यकर्मीहरूको हालै गरिएको तलब पुनरावलोकनले लागत वृद्धि गराउने भए पनि एमबीबीएस सिट संख्या वृद्धिबाट आउने थप आम्दानी र अस्पतालको आम्दानी प्रवृत्तिमा सुधार रहने अपेक्षा गरिएको छ । चालु आवको ६ महिनाको अवधिमा गत आवको वार्षिक आधारमा तुलना गर्दा ४३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
सन् २०२० मा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले ४४ प्रतिशत स्वामित्व लिएको छ । सन् २०२५ को अगस्टमा राइट इस्यु पश्चात् भुक्तानी गरिएको पूँजीका आधारमा हिस्सेदारी थप वृद्धि भएको छ ।
राइट इस्युबाट प्राप्त हुने सम्पूर्ण रकम प्राप्त भएपछि अन्तिम हिस्सेदारी निर्धारण गरिनेछ । नोबेल अस्पतालले पनि सन् २००३ देखि एउटै क्षेत्रमा कारोबार गर्दै आएको छ ।
अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ८२ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ । अस्पतालले दीर्घकालीन कर्जाका लागि २ अर्ब १२ करोड ११ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको हो ।
त्यसैगरी केएमसी अस्पतालको पूर्ण स्वामित्व रहेको काष्टमाण्डप डायग्नोस्टिक एन्ड मेडिकल सर्भिसले १६ करोड १० लाख रुपैयाँ कारोबार गरेको छ ।
कम्पनीले सन् २०२४ मा १५ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा १ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सिनामंगलमा रहेको डायग्नोस्टिक सेन्टरले रेडियोलोजी सेवा दिँदै आएको छ ।
सन् २०२१ मा स्थापना भएको डायग्नोस्टिक सेन्टरले दीर्घकालीन कर्जाका लागि ६८ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले सन् २००९ देखि मेडिकल कलेज र टिचिङ अस्पतालको कारोबार गर्दै आएको थियो । तर, सन् २०२२ देखि कम्पनीले आफ्नै प्रोपर्टीमा कारोबार सुरु गरेको हो ।
कम्पनीले सीटी स्क्यान सेवासँगै विस्तारै अन्य रेडियोलोजी सुविधा थप गर्दै जाने जनाएको छ । साथै, केएमसीबाट एमआरआई सामग्री लिजमा लिई सञ्चालन गर्नेछ । कम्पनीले एक्स-रे, यूएसजी र एमआरआई स्क्यान सन् २०२३ को अन्तिम त्रैमासबाट सञ्चालनमा ल्याएको थियो ।
कम्पनीको आम्दानी सन् २०२४ मा १२७ प्रतिशतले वृद्धि भएको थियो । गत आवमा ६ प्रतिशतले वृद्धि भएको छ । साथै, चालु आवको ६ महिनाको अवधिमा २९ प्रतिशत आम्दानी बढेको उल्लेख छ ।
कांग्रेस नेतासमेत रहेका पूर्व सांसद सुनील शर्मा यस अस्पतालका सञ्चालक हुन् ।









प्रतिक्रिया