
काठमाडौं । ग्यालेक्सी प्याकेजिङले एकै वर्ष पौने २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८४ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ४३ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा २५ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार फास्ट मुभिङ कन्जुमर गुड्सको उच्च बिक्री हुँदा कम्पनीले उत्पादन गरेको सामग्रीको माग बढेकाले कारोबार बढेको हो ।
कम्पनीले गत आवमा ११.४७ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा १२.८४ प्रतिशत नाफा कमाएको थियो । त्यसैगरी चालू आवको लागि १ अर्ब ७४ करोड ५० लाख रुपैयाँको सामग्री बुकिङ भइसकेको कम्पनीको भनाइ छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका र्यापर र प्याकेजिङ सामग्री उत्पादन गर्दै आएको छ । बारा जिल्लाको बहुवारीमा उद्योग रहेको यस कम्पनीले प्याकेजिङ सम्बन्धी सामग्री वार्षिक ७ हजार मेट्रिक टन उत्पादन गर्दै आएको छ ।
कम्पनीले प्याकेजिङ सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी तथा भारतबाट आयात गर्ने गरेको छ । कम्पनीले विशेषगरी कच्चा पदार्थ प्लास्टिक भारतबाट आयात गर्ने गर्दछ ।
कम्पनीको व्यापार आयातित सामग्रीमा निर्भर रहेको जनाइएको छ । स्वदेशी उत्पादनले बजार माग धान्न नसक्ने भएकाले आयात गर्नु परेको कम्पनीको भनाइ छ । गत आवमा ९२ प्रतिशत कच्चा पदार्थ आयात गरेको पाइएको छ ।
अमितकुमार झुनझुनवाला प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९५ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड ७२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।









प्रतिक्रिया