
काठमाडौं । कयाल ग्रुपले चोभार र वीरगञ्जमा डेटा सेन्टर बनाउने भएको छ । ग्रुपको बिचुटेन डेटा भल्ट प्रालिले चोभार र वीरगञ्जमा डेटा सेन्टर बनाउने भएको हो ।
हालैमात्र कयाल ग्रुपले कम्पनी स्थापना गरेर कन्टेनर–आधारित, आधुनिक, हाइपरस्केल टियर आइभी–प्रमाणित डेटा सेन्टर बनाउने योजना बनाएको हो । जुन बैंकिङ, दूरसञ्चार, सार्वजनिक क्षेत्र तथा इन्टरप्राइज इकोसिस्टमहरुको आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको छ ।
कम्पनीको प्रमुख सेवाहरुमा कोलोकेसन सेवा, इन्फ्रास्ट्रक्चर–एज–अ–सर्भिस, प्लेटफर्म–एज–अ–सर्भिस, सफ्टवेर–एज–अ–सर्भिस, फाइल सेयररिङ तथा डेटा भण्डारण सेवाहरु दिने योजना बनाएको छ । साथै, कम्पनीले साइबर सुरक्षा सेवाहरु समावेश हुनेछन् ।
कम्पनीले उक्त आयोजना निर्माणका लागि २ अर्ब ६४ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीले आयोजना निर्माणका लागि २ अर्ब ११ करोड ७० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गर्ने भएको छ भने ५२ करोड ५० लाख रुपैयाँ इक्विटीमार्फत् लगानी गर्नेछ ।
कम्पनीले कर्जा–स्वपुँजी लगानीको अनुपात ८०ः२० राखेको छ । कम्पनीका अनुसार हालसम्ममा कर्जाको व्यवस्थापन भइसकेको छ । साथै, ४८ प्रतिशत इक्विटीको व्यवस्थापन भएको रेटिङमा उल्लेख छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।
हाल यो परियोजना सुरुवाती चरणमा छ । गत महिनाको अन्त्यसम्ममा कम्पनीले आयोजनाको लागि आवश्यकता जग्गा लिजमा लिएको छ । कम्पनीअनुसार मोडुलर आधारित आयोजना छोटो समयमा सम्पन्न हुने अनुमान गरेको छ । कम्पनीले १२० किलोवाटको कन्टेनर आधारित आईटी लोड क्षमता विकास गर्नेछ । उक्त दुईवटा स्थानमा निर्माण हुने आयोजना डेटा सेन्टर र डेटा रिकभरी सेन्टरको लागि प्रयोग हुनेछ ।
कम्पनीको अध्यक्ष नवीन अग्रवाल हुन् । उनीसँग तीन दशकको व्यवसायिक अनुभव छ । कम्पनीको निर्देशक अनुज कयाल छन् ।
यस स्थानको छनौट विस्तृत भूकम्पीय विश्लेषण, माटो परीक्षण तथा प्राविधिक सम्भाव्यता अध्ययनपछि गरिएको हो । काठमाडौं नेपालको राजधानी तथा आर्थिक केन्द्र भएकाले टियर आईभी–प्रमाणित हाइपरस्केल डेटा सेन्टर स्थापनाका लागि सबैभन्दा रणनीतिक स्थान मानिन्छ । काठमाडौंमा नेपालका ठूला बैंकहरु, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु, सरकारी निकायहरु तथा बहुराष्ट्रिय कम्पनीहरुको मुख्य कार्यालय रहेका छन् । उक्त कार्यालयहरुलाई सुरक्षित, नियमअनुसारको तथा उच्च उपलब्धता भएको डेटा होस्टिङ समाधान आवश्यक पर्छ ।
डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ ले नेपालमा बिचुटेन कम्पनीजस्ता डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुको सञ्चालनका लागि कानुनी रुपरेखा प्रदान गर्दछ । सरकारले चालु आर्थिक वर्षको बजेटमा डिजिटल पूर्वाधार निर्माण तथा डिजिटल इकोसिस्टमको विकासका लागि ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै, बजेटमार्फत् डेटा सेन्टर पूर्वाधारको निर्माण, सञ्चालन तथा विकासका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने घोषणा गरेको छ । उक्त घोषणाले बिचुटेन जस्ता कम्पनीहरुका लागि सकारात्मक सम्भावनाहरु सिर्जना गरेको छ ।
सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्यपहाडी क्षेत्रमा डेटा सेन्टर स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । डेटा सेन्टर स्थापना गर्न इच्छुक स्वदेशी तथा विदेशी कम्पनीहरूलाई जग्गा, अबिरल विद्युत आपूर्ति तथा सुरक्षा प्रदान गरिनेछ ।
सरकारले सुरक्षित रूपमा देशभित्रै डेटा होस्टिङको व्यवस्था सक्षम बनाउने, डेटा सार्वभौमिकता सम्बन्धी आवश्यकताहरूलाई समर्थन गर्ने तथा प्रतिकूल परिस्थितिहरूमा समेत अविरल सेवा उपलब्धता सुनिश्चित गर्ने जनाएको छ । त्यसैले, कम्पनीले यो परियोजना नेपालका बैंकिङ, दूरसञ्चार, सार्वजनिक क्षेत्र तथा इन्टरप्राइज इकोसिस्टमहरूको डिजिटल मेरुदण्डको रूपमा स्थापित हुने लक्ष्य राखिएको छ ।
पछिल्लो समय एआई सम्बन्धी प्रयोगहरूले कम्प्युटिङ र व्यापक डेटा भण्डारणको माग गर्ने भएकाले डेटा सेन्टर क्षमताको आवश्यकता उल्लेखनीय रूपमा बढिरहेको छ । परम्परागत रूपमा डेटा सेन्टरहरू इन्टरप्राइज आईटी प्रणाली र क्लाउड भण्डारण जस्ता साधारण कार्यभारहरू समर्थन गर्नका लागि डिजाइन गरिएका थिए । तर, एआई ट्रेनिङ र इन्फरेन्स कार्यभारहरूको तीब्र प्रयोगसँगै यो संरचना क्रमशः परिवर्तन भइरहेको छ।
सन् २०२० देखि २०२५ को अवधिमा विश्वव्यापी रूपमा एआईमा लगानी करिब १ ट्रिलियन अमेरिकी डलर नाघिसकेको छ । जसमा संयुक्त राज्य अमेरिका र चीनले झण्डै ७५ प्रतिशत योगदान गरेका छन् ।
विश्वभर एआईको प्रयोग बढ्दै जाँदा नेपाल सरकारले पनि एआईको विकास प्रवर्द्धन गर्न प्रयासहरु गरिरहेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सरकारले अनुसन्धान, प्रयोग तथा विस्तारका लागि निजी क्षेत्रसँग सहकार्यमा एआई केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । जसले एआई व्यावसायिक प्रयोगलाई प्रवद्र्धन गर्न सहयोग पुर्याउने जनाएको छ ।









प्रतिक्रिया