नारायणी इस्पातले एकै वर्ष गर्‍यो सवा ११ अर्ब रुपैयाँको कारोबार


काठमाडौं । नारायणी इस्पातले एकै वर्ष सवा ११ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ११ अर्ब २४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२४ मा ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १० अर्ब ५६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००९ मा स्थापना भएको यो कम्पनी सन् २०२५ मा पब्लिक कम्पनीका रूपमा परिणत भएको छ । कम्पनीले डण्डी र अन्य अलाइड स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीको व्यापार गत आवमा २९ प्रतिशतले वृद्धि भएको जनाइएको छ । कम्पनीले गत आवमा उच्च परिमाणमा सामग्री बिक्री गर्दा व्यापार उल्लेख्य बढेको हो ।

कम्पनीले गत आवमा ६.५८ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ६.२१ प्रतिशत नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको ब्याज खर्च केही मात्रामा बढेको छ । सन् २०२४ मा २८ करोड ८० लाख रुपैयाँ ब्याज खर्च रहेकोमा सन् २०२५ मा बढेर ३० करोड २० लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ७ अर्ब २५ करोड ६० लाख रुपैयाँको कारोबार गरिसकेको छ।

केयल ग्रुप अफ कम्पनिजद्वारा सञ्चालित कम्पनीले सन् २०१८ देखि ६ लाख ९२ हजार मेट्रिक टन क्षमतामा व्यावसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले उत्पादन गरेको डण्डी नारायणी स्टिलले बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ६६ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ अर्ब २७ करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीको कर्जा ७ अर्ब १९ करोड ६ लाख रुपैयाँबाट बढेको हो ।

कम्पनीको कारोबारमा ९४ प्रतिशत कच्चा पदार्थको हिस्सा छ । कम्पनीको अध्यक्ष विकासकुमार केयल छन् ।