नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तार गर्ने सहमति


काठमाडौं । नेपाल र स्लोभेनियाबीच द्विपक्षीय व्यापार तथा लगानीका सम्भावनाहरू खोजी गर्दै आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका आवासीय राजदूत टोमाज मेन्सिनबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा उक्त सहमति भएको हो ।

भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा पछिल्लो समय वैदेशिक लगानी भित्र्याउनका लागि गरिएका नीतिगत सुधारहरूको बारेमा जानकारी दिएका थिए ।

उनले देशमा बहुमतको स्थायी सरकार निर्माण भएकाले नीतिगत स्थायित्व कायम हुनेमा निजी क्षेत्र आशावादी रहेको बताए ।

‘नेपालले बाह्य लगानीका लागि थुप्रै नीतिगत सुधारहरू गरेको छ । अहिलेको राजनीतिक स्थिरताले लगानीकर्तामा उत्साह थपेको छ,’ उपाध्यक्ष श्रेष्ठले भने ‘दुई देशबीच व्यवसाय-व्यवसाय (बीटुबी) सहकार्य, व्यापारिक भ्रमण र संयुक्त प्लेटफर्ममार्फत सम्बन्ध विस्तार गर्न महासंघ पूर्ण रूपमा तयार छ ।’

स्लोभेनियालाई नेपालको एक भरपर्दो आर्थिक साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । सो अवसरमा स्लोभेनियाली राजदूत टोमाज मेन्सिनले नेपाल र स्लोभेनियाबीचको कुटनीतिक सम्बन्ध सुमधुर रहेको बताउँदै यसलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राखे ।

स्लोभेनियाली नागरिकहरूले नेपाललाई सगरमाथाको देश र एक सुन्दर पर्यटकीय गन्तव्यका रूपमा चिन्ने उल्लेख गर्दै उनले पर्यटनबाहेक प्रविधि हस्तान्तरण, नवप्रवर्तन र संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औंल्याए ।

राजदूत मेन्सिनले नेपालको विकास प्रक्रियामा स्लोभेनियाले प्रविधि र अनुभव आदानप्रदानमार्फत सहयोग गर्न सक्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

छलफलमा नेपालका लागि स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्माको पनि सहभागिता रहेको थियो । नेपाल र स्लोभेनियाबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यस भेटवार्तापछि दुई देशका निजी क्षेत्रबीचको सम्बन्ध थप प्रगाढ हुने र व्यापारिक गतिविधिमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।