
काठमाडौं । स्याङ्जाको पहिचान बनेको गुलियो र रसिलो सुन्तला अब नेपाली बजारमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा पुग्ने भएको छ।
स्याङ्जामा उत्पादित सुन्तलालाई बंगलादेश निर्यात गर्ने तयारीस्वरुप त्यहाँका व्यवसायीहरुको एक टोलीले हालै स्याङ्जाका सुन्तला बगैँचाहरुको स्थलगत अध्ययन र अवलोकन गरेको छ ।
जिल्लाका ९७ वडामध्ये झण्डै ९० वडामा सुन्तला उत्पादन हुँदै आएको छ । सिजनमा नेपालका प्रमुख सहरहरुमा माग धान्दै आएको स्याङ्जाली सुन्तला अब तेस्रो मुलुक निर्यात हुने प्रक्रिया अगाडि बढेको हो ।
बंगलादेशी व्यवसायीको टोलीले अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकाका सुन्तला पकेट क्षेत्रमा पुगेर उत्पादन प्रक्रिया र गुणस्तरको गहिरो अध्ययन गरेको छ ।
आउँदो सिजनदेखि बङ्गलादेशमा सुन्तला पुर्याउने उद्देश्यले हेफर इन्टरनेशनल नेपाल र हेफर बंगलादेशको सहकार्यमा यो प्रक्रिया अगाडि बढाइएको हो ।
अर्जुनचौपारी–१ थापथोकस्थित त्रिपुत्र बागवानी कृषि फार्मका सञ्चालक तथा अगुवा कृषक फणिनारायण अर्यालले एक दशकअघि पनि आफूले सुन्तला बंगलादेश पठाएको स्मरण गर्दै आगामी दिनमा संस्थागत रुपमै निर्यात हुनेमा विश्वस्त रहेको बताए ।
हेफर बंगलादेशका कार्यक्रम प्रवन्धक आशिक एकबालले स्याङ्जाको सुन्तलाको चर्चा सुनेर आफूहरु उत्साहित भएको र आगामी वर्षदेखि बङ्गलादेशी उपभोक्ताको हातमा पुर्याउने योजना रहेको बताए ।
यस्तै, बंगलादेशी व्यवसायी गाजी ताउहिदुर रहमानले नेपालको वातावरण सुन्तलाका लागि उत्कृष्ट रहेको बताउँदै उचित भण्डारणको व्यवस्था भए निर्यात सहज हुने औंल्याए ।
स्याङ्जाको वालिङमा सुन्तला उत्पादक महिला स्वावलम्बी समूहहरुले बजारीकरणमा नयाँ आयाम थपेका छन्। पहिले सिङ्गै बगैँचा ठेक्का दिने चलन रहेकामा अहिले जोखेर मात्र सुन्तला बिक्री गर्ने अभियान सुरु गरिएको छ ।
वालिङ नगरपालिका, हेफर इन्टरनेशनल र दियालो संस्थाको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका साथै अन्तर्राष्ट्रिय निर्यातको आधार तयार पारिएको वालिङका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।
स्याङ्जामा सुन्तला उत्पादनको तथ्याङ्कले हरेक वर्ष नयाँ रेकर्ड कायम गरिरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार, गत सिजनमा मात्रै जिल्लामा १ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ।
जिल्लामा कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ हजार मेट्रिक टनले बढी हो। गत वर्ष उत्पादित सुन्तला थोकमा प्रतिकिलो औसत ५७ रुपैयाँका दरले बिक्री भएको थियो । उत्पादनमा भएको यस वृद्धिसँगै निर्यातको ढोका खुलेपछि हजारौँ सुन्तला कृषकहरु थप उत्साहित भएका छन् ।








प्रतिक्रिया