गाडीको भाडा बढाउन यातायात व्यवसायीको माग


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्य वृद्धिको अनुपातमा वैज्ञानिक भाडा समायोजन प्रणाली कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बढ्दा समेत भाडा समायोजन नहुँदा यातायात व्यवसायीहरू ठूलो मारमा परेको बताए ।

उनका अनुसार डिजेलमा दुई पटक गरी कुल ५५ रुपैयाँ वृद्धि भइसकेको छ भने पेट्रोलको मूल्य पनि लगातार बढिरहेको छ । यो अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको तर देशभरका अन्य व्यवसायीहरू भने अन्योलमा रहेको उनको भनाइ छ ।

‘वार्षिक रूपमा गरिने भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको छ,’ सिटौलाले भने, ‘हवाई क्षेत्र र नेपाल आयल निगममा जस्तै सडक यातायातमा पनि स्वचालित भाडा समायोजन प्रणाली लागू हुनुपर्छ । राति १२ बजे मूल्य बढ्दा निगमको मूल्य लागू हुन्छ भने यातायातको हकमा किन विभेद ?’ उनले इन्धनको मूल्य घट्दा भाडा घटाउन पनि व्यवसायीहरू तयार रहेको स्पष्ट पारे ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि त्यसले अपेक्षित नतिजा नदिएको सिटौलाको जिकिर छ ।

उनले सरकारी निकायमा बिदा हुँदा कर्मचारी, विद्यार्थी र पेशाकर्मीहरूले निजी सवारी साधन बढी प्रयोग गर्दा इन्धन खपत झन् बढेको दाबी गरे ।

‘दुई दिन बिदा दिँदा खपत घट्नुको सट्टा मानिसहरू विलासी भएर झन् धेरै हिँड्न थाले,’ उनले भने, ‘सरकारले यो निर्णयको समीक्षा गर्नुपर्छ । बरु इन्धन संकट समाधान गर्न विद्युतीय बाहेकका निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नुपर्छ । यसले विदेशी मुद्रा बाहिर जानबाट रोक्न र आपूर्ति व्यवस्था सहज बनाउन मद्दत पुग्छ ।’

सिटौलाले सरकारले वैज्ञानिक प्रणालीमार्फत भाडा समायोजन नगरे व्यवसायीहरू चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन । उनले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन अब प्रविधिमैत्री, क्यासलेस नगदरहित र जीपीएस प्रणालीमा लैजान आवश्यक रहेको पनि उल्लेख गरे ।

हालको अस्थिर मूल्यवृद्धिका कारण काठमाडौं उपत्यका लगायत देशभरका मालवाहक तथा यात्रुवाहक व्यवसायीहरू संकटमा परेकाले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने महासंघको ठहर छ ।