श्रीकृष्ण आयल रिफाइनरीको व्यापार रिबाउन्ड, ६ महिनामै साढे २ अर्बको कारोबार

42
Shares

काठमाडौं । हेल्थसहित अन्य विभिन्न ब्रान्डको तेल बेच्ने श्रीकृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल घी इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनामा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा २ अर्ब ५९ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।

गत आवमा ४ अर्ब १० करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ७३ करोड रुपैयाँ, सन् २०२३ मा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको थियो ।

मनोजकुमार अग्रवाल अध्यक्ष रहेको कम्पनीको व्यापार गत आवमा रिबाउन्ड भएको हो । गत आवको व्यापार ४६१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । गत आवमा भारतमा उच्च निर्यात हुँदा व्यापारमा उल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ ।

सन् २०२३ मा ७ करोड रुपैयाँ खुद घाटा व्यहोरेको कम्पनीले सन् २०२४ मा १७ करोड ८० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । तर, गत आवमा उच्च कारोबारसँगै नाफा पनि उल्लेख्य कमाएको छ । कम्पनीले गत आवमा १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, कम्पनीको कुल नगद सञ्चय पनि ६ करोड २० लाख रुपैयाँ पुगेको छ जुन सन् २०२४ मा नकारात्मक थियो। कम्पनीको गत आवमा दीर्घकालीन ऋण ९० करोड ९० लाख रुपैयाँमा उच्च स्तरमा कायम भयो । सन् २०२४ मा २ अर्ब ५१ करोड १० लाख रुपैयाँबाट बढेर गत आवमा २ अर्ब ७४ करोड ६० लाख रुपैयाँ पुगेको छ । यो ऋण बढ्नुको कारण उच्च भण्डारण र प्राप्तिहरुको वित्तपोषणको कारण भएको हो ।

कम्पनीकाअनुसार गत आवमा ट्यान्जिबल नेट वर्थ पनि बढेको छ । सन् २०२३ मा ४५ करोड ७० लाख रुपैयाँबाट घटेर सन् २०२४ मा २६ करोड ९० लाख रुपैयाँमा झरेको थियो । जुन घाटाका कारण घटेको थियो । तर, गत आवमा कारोबारमा सुधार भई उक्त ट्यान्जिबल नेट वर्थ पुनः बढेर ३७ करोड रुपैयाँ पुगेको छ ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले सोयाबिन, पामोलिन, सन्फ्लावर र वनस्पति घ्यू गरी वार्षिक ७० हजार मेट्रिक टन प्रशोधन गर्दै आएको छ । साथै, १० हजार मेट्रिक टन तोरीको तेल प्रशोधन गर्ने क्षमता छ । कम्पनीले तेलसँगै पिना, पाम फ्याट्टी, एसियड आयल १ लाख ३३ हजार मेट्रिक टन उत्पादन क्षमता छ । कम्पनीले उत्पादन गरेको तेल हेल्थ, सोयालाइट, सनलाइट, तोरीगोल्ड, डाइमन्ड र नित्याफ्रेस ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

एचपी अग्रवाल ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ८३ करोड १८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १५ करोड १८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ६८ करोड रुपैयाँको रेटिङ गराएको हो ।

Skip This