
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालभरि उनले कुनै पनि ठूला घोषणाहरू गर्नु ठीक अघि व्यापारीहरूले वित्तीय बजारमा लाखौं डलरको बाजी थापिरहेको पाइएको छ ।
बीबीसीले धेरै वित्तीय बजारहरूको कारोबार संख्याको तथ्यांक अध्ययन गर्दा राष्ट्रपतिका महत्त्वपूर्ण घोषणाहरू हुनु केही घण्टा वा कहिलेकाहीँ केही मिनेट अघि नै बजारमा अस्वाभाविक हलचल देखिने गरेको फेला पारेको छ ।
केही विश्लेषकहरूका अनुसार, यो गैरकानुनी इन्साइडर ट्रेडिङ (भित्री सूचनाका आधारमा गरिने व्यापार) को संकेत हो जहाँ सार्वजनिक रूपमा उपलब्ध नभएको गोप्य सूचनाका आधारमा फाइदा उठाइन्छ । अन्य कतिपयले भने व्यापारीहरू राष्ट्रपतिका कदमहरूको पूर्वानुमान गर्न सिपालु भएको तर्क गर्छन् ।
बीबीसीले फेला पारेका ५ प्रमुख उदाहरणहरू यहाँ दिइएका छन्ः
१. ९ मार्च २०२६ः युद्ध लगभग सकियो
इरानसँगको युद्ध सुरु भएको नवौं दिनमा ट्रम्पले सीबीएस न्युजलाई टेलिफोन अन्तर्वार्ता दिँदै युद्ध लगभग सकिएको बताएका थिए ।
बेलुका ६ः२९ः तेलको मूल्य घट्ने पक्षमा अचानक ठूलो संख्यामा बाजी थापियो ।
बेलुका ७ः१६ः ट्रम्पको अन्तर्वार्ता सार्वजनिक भयो ।
बेलुका ७ः१७ः तेलको मूल्य २५ प्रतिशतले घट्यो ।
रिपोर्टरले एक्समा पोस्ट गर्नुभन्दा ४७ मिनेट अघि नै तेलको मूल्य घट्ने पक्षमा बाजी थाप्ने व्यापारीहरूले यसबाट लाखौं डलर कमाएका छन् ।
२. २३ मार्च २०२६ः शत्रुताको पूर्ण समाधान
इरानका पावर प्लान्टहरू नष्ट गर्ने धम्की दिएको दुई दिनपछि ट्रम्पले ट्रुथ सोसलमा तेहरानसँग धेरै राम्रो र फलदायी कुराकानी भएको र शत्रुताको पूर्ण समाधानतर्फ अघि बढेको पोस्ट गरे ।
बिहान १०ः४८–१०ः५०ः तेलको मूल्यमा अस्वाभाविक सट्टेबाजी सुरु भयो ।
बिहान ११ः०४ः ट्रम्पको पोस्ट सार्वजनिक भयो ।
बिहान ११ः०५ः तेलको मूल्य ११ प्रतिशतले घट्यो ।
ट्रम्पको पोस्ट आउनुभन्दा १४ मिनेट अघि नै अमेरिकी तेलको मूल्यमा अस्वाभाविक रूपमा धेरै बाजीहरू थापिएको थियो ।
३. ९ अप्रिल २०२५ः लिबरेशन डेको महसुलमा रोक
गत वर्ष अप्रिल २ मा ट्रम्पले लगभग सबै देशका सामानमा भारी भन्सार महसुल लगाउने घोषणा गरेपछि विश्वभरको सेयर बजार ओरालो लागेको थियो । तर, एक हप्तापछि जब उनले चीन बाहेक अन्य देशका लागि यसमा ९० दिनको रोक लगाउने घोषणा गरे तब सेयर बजार आकाशियो ।
साँझ ६ः००ः व्यापारीहरूले सेयर बजार बढ्ने पक्षमा ठूला सम्झौताहरू गर्न थाले ।
साँझ ६ः१८ः ट्रम्पले महसुल रोक्ने घोषणा गरे ।
साँझ ६ः१९ः सेयर बजारमा ऐतिहासिक वृद्धि सुरु भयो ।
लगातार सात दिनसम्म घाटामा रहेको बजारमा घोषणा हुनुभन्दा १८ मिनेट अघि नै केही व्यापारीहरूले २० लाख डलरभन्दा बढीको बाजी थापेका थिए । यसले उनीहरूलाई करिब २ करोड डलर नाफा गराएको हुन सक्छ ।
४. ३ जनवरी २०२६ः मदुरो पक्राउ र अपदस्थ
अनलाइन प्रेडिक्सन मार्केट (भविष्यवाणी गर्ने बजार) मा पनि यस्तै शंकास्पद गतिविधि देखिएको छ ।
डिसेम्बर २०२५ः पोलिमार्केटमा बर्डनसम मिक्स नामको एउटा नयाँ अकाउन्ट खोलियो ।
२ जनवरी २०२६ः उक्त अकाउन्टले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो जनवरीको अन्त्यसम्ममा पदच्युत हुने कुरामा ३२ हजार ५०० डलरको बाजी थाप्यो ।
३ जनवरी २०२६ः अमेरिकी सेनाले मदुरोलाई नियन्त्रणमा लियो र उक्त अकाउन्टले ४ लाख ३६ हजार डलर जित्यो ।
यसपछि उक्त अकाउन्टले आफ्नो नाम परिवर्तन गर्यो र त्यसयता कुनै बाजी थापेको छैन ।
५. २८ फेब्रुअरी २०२६ः इरानमाथि आक्रमण
ब्लकचेन विश्लेषण वेबसाइट बबलम्याप्सका अनुसार, फेब्रुअरीमा पोलिमार्केटमा ६ वटा नयाँ अकाउन्टहरू खोलिएका थिए ।
२८ फेब्रुअरीः ती सबैले २८ फेब्रुअरीभित्र इरानमाथि अमेरिकी आक्रमण हुने कुरामा बाजी थापेका थिए । ट्रम्पले आक्रमणको पुष्टि गरेपछि ती ६ अकाउन्टहरूले मिलेर १२ लाख डलर कमाए ।
अमेरिकी सिनेटका वरिष्ठ डेमोक्रेटहरूले यसबारे छानबिन गर्न वित्तीय नियामक निकायलाई आग्रह गरेका छन् । तिनीहरूले राष्ट्रपतिका घोषणाहरूले प्रशासनका भित्री मान्छे र साथीहरूलाई धनी बनाएको आरोप लगाएका छन् ।
एसईसीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन । तर, ह्वाइट हाउसले गत महिना आफ्ना कर्मचारीहरूलाई एक आन्तरिक इमेल पठाउँदै इन्साइडर सूचना प्रयोग गरेर सट्टेबाजी नगर्न चेतावनी दिएको थियो ।
कानुनी विज्ञहरूका अनुसार, भित्री सूचनाका आधारमा गरिने यस्तो व्यापारलाई प्रमाणित गर्न निकै कठिन हुन्छ । सूचनाको स्रोत को हो भन्ने स्पष्ट नभई कसैलाई कारबाही गर्न नसकिने विज्ञहरूको भनाइ छ ।








प्रतिक्रिया