ट्रम्पको इच्छालाई सम्मान गर्दै ब्याजदर घटाउलान् फेड अध्यक्षका लागि मनोनित केभिन वार्सले ?


एजेन्सी । धेरै वर्षदेखि फेडरल रिजर्भले (अमेरिकी केन्द्रीय बैंक) आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको भन्दै केभिन वार्सले आलोचना गर्दै आएका छन् । तर हालसालै उनले फेडले यसको ठीक विपरित काम गर्नुपर्ने हुन सक्छ भन्ने संकेत दिएका छन् ।

यो विरोधाभास मंगलबार सिनेट बैंकिङ कमिटीमा हुने उनको अनुमोदन सुनुवाइको मुख्य केन्द्रविन्दु हुनेछ । यो सुनुवाइ राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा मनोनित वार्सका लागि पहिलो वास्तविक परीक्षा हुनेछ । यसले विश्वव्यापी अर्थतन्त्रमा आएको ठूलो हलचलका बीच उनले कसरी मौद्रिक नीतिलाई नयाँ रूप दिन सक्छन् भन्ने देखाउनेछ ।

वार्सका विगतका टिप्पणीहरूले उनी एक छरितो र थप अनुशासित फेड चाहन्छन् भन्ने संकेत गर्छन् । उनी फेडले सञ्चार र विस्तृत अधिकारहरूमा कम र आत्मसंयममा बढी जोड दिएको हेर्न चाहन्छन्, विशेषगरी सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि फेडले आफ्नो ब्यालेन्स सिटमा गरेको व्यापक विस्तारलाई उनी घटाउन चाहन्छन् ।

सन् २००६ देखि २०११ सम्म फेडको इतिहासकै सबैभन्दा कान्छो गभर्नरको रूपमा सेवा गरेका वार्सलाई यो सुनुवाइले आफ्ना योजनाहरू पुनः पुष्टि गर्ने अवसर दिनेछ ।

यसका साथै इरानसँगको अमेरिका–इजरायल युद्धले यस वर्षको ब्याजदरमा कस्तो प्रभाव पार्न सक्छ भन्ने बारेमा पनि उनले आफ्नो धारणा राख्नेछन् । के फेडले सुस्त अर्थतन्त्रलाई टेवा दिन ब्याजदर घटाउनुपर्छ, ऊर्जासँग सम्बन्धित मुद्रास्फीतिसँग लड्न ब्याजदर बढाउनुपर्छ वा विश्वव्यापी आर्थिक परिणामहरू नियाल्दै यथास्थितिमा रहनुपर्छ ?

जनवरीको अन्त्यमा वार्सलाई मनोनयन गर्नुअघि ट्रम्पले आफूले रोजेको व्यक्तिले ऋणको लागत (ब्याजदर) घटाउन दबाब दिने पूर्ण अपेक्षा गरेको बताएका थिए । तर, फेड एक स्वतन्त्र र स्वायत्त संस्था हो जसले कुनै पनि राजनीतिक प्रभावभन्दा बाहिर रहेर मौद्रिक नीति तय गर्दछ । वार्सले यो परम्परालाई कायम राख्ने अपेक्षा गरिएको छ ।

वार्सका लागि सबैभन्दा ठूलो प्रश्न हो – उनले फेडको ६.७ ट्रिलियन डलरको पोर्टफोलियोलाई कसरी घटाउने योजना बनाएका छन् ? धेरै लगानीकर्ताहरूका अनुसार बजारलाई अस्थिर नबनाई यो काम गर्न कठिन हुन सक्छ ।

सन् २००८ को आर्थिक मन्दीका बेला तत्कालीन अध्यक्ष बेन बर्नान्कीको नेतृत्वमा फेडले अर्थतन्त्र उकास्न ठूलो मात्रामा ट्रेजरी र मोर्टगेज–ब्याक्ड धितोपत्रहरू खरिद गरेको थियो । सन् २०२० को महामारीका बेला यो पोर्टफोलियो झण्डै ९ ट्रिलियन डलर पुगेको थियो ।

वार्सका अनुसार, फेडको यो भद्दा ब्यालेन्स सिटलाई उल्लेख्य रूपमा घटाउन सकिन्छ र त्यसरी बचत भएको रकमलाई सर्वसाधारण र साना व्यवसायहरूका लागि ब्याजदर घटाउन प्रयोग गर्न सकिन्छ ।

वार्सको दृष्टिकोणमा केही परिवर्तन आएको देखिए पनि वाल स्ट्रिटले उनीबाट अन्ततः ब्याजदर घटाउने तर्ककै अपेक्षा गरेको छ ।

तर, अहिले ब्याजदर घटाउनु चुनौतीपूर्ण छ । मार्च महिनामा उपभोक्ता मूल्य सूचकांक ३.३ प्रतिशत पुगेको छ जुन विगत दुई वर्षयताकै उच्च वार्षिक वृद्धि हो । ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार एवं अर्थमन्त्री स्कट बेसेन्टले समेत अहिले ब्याजदर घटाउने समय नभएको र इरान युद्धको परिणाम कुरेर बस्नुपर्ने बताएका छन् ।

ब्याजदर घटाउनका लागि वार्सले फेडको १२ सदस्यीय नीति निर्धारण समितिको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । फेडका निर्णयहरू सर्वसम्मति वा बहुमतमा आधारित हुन्छन् र अध्यक्षसँग एक्लै ब्याजदर घटबढ गर्ने अधिकार हुँदैन ।

गत जुलाईमा फक्स बिजनेससँगको अन्तर्वार्तामा वार्सले फेडमा सत्ता परिवर्तनको आवश्यकता रहेको र यो संस्थाले बाटो बिराएको बताएका थिए ।

उनले फेडमा धेरै अनावश्यक कर्मचारी रहेको टिप्पणी गर्दै आफू नियुक्त भएमा कर्मचारी संख्या कटौती गर्ने संकेत दिएका थिए । फेडको वाशिङटनस्थित मुख्यालयमा करिब ३२ सय कर्मचारी छन् । वर्तमान अध्यक्ष जेरोम पावेलले पनि कर्मचारी संख्या घटाएर २ हजारमा झार्ने योजना पहिले नै अघि सारिसकेका छन् ।