
एजेन्सी । अहिले अमेरिका र इरानबीच भइरहेको वार्तालाई बुझ्न वा पछ्याउन कठिन बनाउने केही मुख्य कारकहरू छन् ।
पहिलो कुरा, अहिले इरानमा वास्तवमा कसले निर्णय लिइरहेको छ भन्ने कुरा निश्चित छैन । इन्स्टिच्युट फर द स्टडी अफ वारले यस्तो आकलन गरेको छ, ‘इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का कमान्डर मेजर जनरल अहमद वाहिदी र उनको निकटवर्ती समूहले सम्भवतः इरानको सैन्य प्रतिक्रियामा मात्र नभई इरानको वार्ताको अडान र दृष्टिकोणमा पनि कम्तीमा अस्थायी नियन्त्रण कायम गरेका छन् ।’
यसको अर्थ हुन्छ– आईआरजीसी भित्रका कट्टरपन्थीहरूले इरानको तर्फबाट शर्तहरू निर्धारण गरिरहेका छन् । यो निकै महत्त्वपूर्ण कुरा हो किनभने उनीहरूको प्राथमिकता इरानको राजनीतिक नेतृत्वको भन्दा फरक हुन सक्छ । यो भिन्नता निकै अर्थपूर्ण छ ।
अमेरिका र इजरायलले इरानको कमान्ड–एन्ड–कन्ट्रोल (सैन्य नियन्त्रण) संयन्त्रमा अवरोध पुर्याउन सक्ने क्षमता राख्ने हुनाले आईआरजीसीका धेरै शाखाहरूले युद्धविराम सम्झौताको उल्लंघन भएको ठानेमा आफैंले उचित ठानेको प्रतिक्रिया दिने पर्याप्त स्वायत्तता पाएको यो पनि स्पष्ट छ ।
तर, शायद यसभन्दा पनि बढी विचलित पार्ने कुरा ट्रम्पको अस्थिर र सनकी स्वभाव हो । संवेदनशील वार्ताहरू चलिरहेका बेला उनी आफ्नो अभिव्यक्तिमा कुनै पनि प्रकारको अनुशासन कायम राख्न अक्षम देखिन्छन् ।
ट्रम्प आवेगमा आउने, आफ्नो मन्त्रिपरिषद्को सल्लाहलाई बेवास्ता गर्ने र आफूलाई नै सर्वशक्तिमान ठान्ने मात्र नभई मुख्य कुरा त कसैले पनि उनको एउटा शब्दमा समेत विश्वास गर्न सक्ने अवस्था छैन ।
आफ्नो करियरभरि ट्रम्पले ओभल अफिसबाट बारम्बार यस्ता घोषणाहरू गरेका छन् जुन स्पष्ट रूपमा झूट हुन् । यो कुनै अतिशयोक्ति वा तथ्यको गल्ती मात्र नभई सरासर झूट हो ।
तैपनि, अमेरिकी राजनीतिक प्रणालीभित्र कसैले पनि उनलाई यी झूटका लागि अहिलेसम्म सफलतापूर्वक उत्तरदायी बनाउन सकेको छैन । त्यसैले उनी विना सजाय यस्तै गरिरहन्छन् ।
पछिल्ला केही हप्ताहरूमा उनले इरानीहरूले यस्ता शर्तहरूमा सहमति जनाएको निरन्तर दाबी गरिरहेका छन् जुन इरानले कडा रूपमा अस्वीकार गर्दै आएको छ । यहाँसम्म कि उनले इरानी नेतृत्वसँग काल्पनिक कुराकानीहरू समेत आफैंले बनाएको देखिन्छ जसको बारेमा अरू कसैलाई केही थाहा छैन ।
यसको परिणामस्वरूप अहिले वार्ताहरू यस्तो बुझाइमा भइरहेका छन् कि कुनै पनि सम्झौताहरू लगभग अर्थहीन छन् वा कम्तीमा कुनै पनि पक्षको नेतृत्वले विना कारण वा विना चेतावनी जुनसुकै बेला यसलाई खारेज गर्न सक्छ ।
कसैले पनि अर्को पक्षलाई विश्वास गर्दैन किनभने उनीहरूलाई थाहा छ उनीहरूको प्रतिबद्धता इमानदार नै भए पनि, वास्तविक स्थिति उनीहरूको नियन्त्रणमा छैन ।
वार्ता असफल हुँदै गएको हरेक दिन स्थलगत सैन्य आक्रमणको नजिक विश्व पुगिरहेको छ जुन सबैका लागि विनाशकारी हुनेछ ।








प्रतिक्रिया