
काठमाडौं । सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले उत्पादन गरेको बिस्कुटभित्र रौं भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार, उद्योगले उत्पादन गरेको ‘डाइजेस्टिभ नट्स’ ब्रान्डको बिस्कुटमा रौं फेला परेको भन्दै उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो ।
सोही उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा टोलीले उजुरीसँग सम्बन्धित बिस्कुटको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि कैफियत पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कारबाही गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३५ को खण्ड ‘ङ’ अनुसारको कसुर ठहर भएको र सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार जरिवाना रकम सात दिनभित्र सरकारी खातामा जम्मा गरी सोको प्रमाण पेश गर्न निर्देशन दिइएको छ।
विभागले उजुरीसँग सम्बन्धित बिस्कुटका तस्वीरहरू समेत सार्वजनिक गर्दै उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि उद्योगलाई कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।








प्रतिक्रिया