द लास्ट अफ अर्थ: औपनिवेशिक छायाँमा पहिचानको खोजी


काठमाडौं । तिब्बत भन्नेबित्तिकै रहस्यमयी आध्यात्मिक स्थानको छवि पाठकको मनमा आउँछ । त्यो रहस्यलाई बुझ्नका लागि भारतीय उपमहाद्वीपमा उपनिवेश चलाएर बसेका अंग्रेजहरूले अनेकौं अभियान चलाएका थिए । उनीहरूको त्यही क्रियालकलापलाई आख्यानको जामा पहिर्याएर भारतीय लेखिका दीपा अनपाराले उपन्यास प्रकाशन गरेकी छन्, ‘द लास्ट अफ अर्थ’ शीर्षक दिएर ।

अनपाराको यो ऐतिहासिक उपन्यास ईस्वीको उन्नाईसौं शताब्दीको उत्तरार्धमा हिमालयको दुर्गम काखमा बुनिएको सघन कथा हो । यसअघिको चर्चित उपन्यास ‘जिन पट्रोल अन द पर्पल लाइन’ मार्फत अन्तर्राष्ट्रिय ख्याति कमाएकी अनपाराले यसपटक भने पाठकलाई ‘द ग्रेट गेम’ को समयमा पुर्याएकी छन् । त्यतिखेर बेलायती र रुसी साम्राज्यका शासकहरू मध्य एसिया र तिब्बतमा आफ्नो वर्चस्व जमाउन संघर्षरत थिए ।

यो उपन्यास काल्पनिक यात्रा संस्मरण वा साहसिक कथा मात्र नभई औपनिवेशिक मर्यादानुक्रम, साम्राज्यवादी शोषण र मानवीय पहिचानको जटिलतामाथि गरिएको गम्भीर विमर्श हो ।

उपन्यासको पृष्ठभूमि सन् १८६० र १८७० को दशकमा अडिएको छ । तत्कालीन समयमा तिब्बत एउटा निषिद्ध राज्य (फर्बिडन किङडम) थियो जहाँ विदेशीहरूलाई प्रवेश निषेध थियो । बेलायती साम्राज्यले तिब्बतको भूगोल र विशेष गरी साङ्पो (ब्रह्मपुत्र) नदीको मुहान पत्ता लगाउन भारतीय सर्वेक्षक वा ‘पण्डित’ भनिने भारतीय गुप्तचरहरूलाई खटाउने गरेको थियो ।
उपन्यासले दुईवटा समानान्तर कथाहरूलाई सँगसँगै अगाडि बढाउँछ ।

पहिलो कथा बलरामको हो । उनी एक भारतीय सर्भेयर हुन् र एक बेलायती क्याप्टेनसँगै तिब्बतको नक्सांकन गर्ने गोप्य मिसनमा निस्किएका छन् । बलरामको मुख्य उद्देश्य साङ्पोको नक्सा कोर्नु मात्र नभई तीन वर्षअघि सोही मिसनमा गएर हराएको आफ्नो अभिन्न मित्र (र प्रेमी) ज्ञानको खोजी गर्नु पनि हो ।

दोस्रो कथा क्याथरिन वेस्टकोटको हो । उनी एक ‘हाफ–कास्ट’ (मिश्रित जाति अर्थात् बेलायती गोरा बुवा र भारतीय आमाकी सन्तान) महिला हुन् । उनी लन्डनको संकुचित समाज र आफ्नो अतीतबाट भागेर तिब्बतको ल्हासा पुग्ने पहिलो पश्चिमी महिला बन्ने महत्त्वाकांक्षाका साथ यात्रामा छिन् । कथाको अन्त्यतिर यी दुई पात्र र तिनका भोगाइहरूको मिलन हुन्छ ।

उपन्यासले चित्रण गरेको औपनिवेशिक मर्यादाक्रम यसको सबैभन्दा बलियो पक्ष हो । बेलायती साम्राज्यका लागि भारतीय ‘पण्डित’हरू संवेदनशीलता भएका मानिस नभई खोजी अभियानका उपकरण मात्र थिए भन्ने कुरा उपन्यासले स्पष्ट पार्छ । क्याप्टेनको चरित्र मार्फत अनपाराले साम्राज्यवादी अहंकार र संवेदनहीनतालाई छर्लंग पारेकी छन् । क्याप्टेनका लागि तिब्बतको नक्सांकन मानिसको ज्यानभन्दा बढी महत्त्वपूर्ण छ ।

विदेशीका लागि निषेधित तिब्बतमा भारतीयको जस्तो भेष धरेर निस्केका क्याप्टेनका भरिया र गोठालाहरू (चाँद, नागा, योगी) ले यात्राका क्रममा ज्यान गुमाउँदा क्याप्टेनको प्रतिक्रिया मानवीय संवेदनाभन्दा बढी वैज्ञानिक र रणनीतिक किसिमको हुन्छ । उनले ती मृत्युहरूलाई तिब्बतको अस्वस्थ वातावरणको परिणाम भन्दै महत्त्वहीन बनाउँछन् ।

यो साम्राज्यवादी सोचको कुरूप पाटो हो जसअन्तर्गत स्थानीय जनताको रगत र पसिनामाथि उभिएर गोरा शासकहरूले आफ्नो ‘साहसिक’ इतिहास लेख्छन् । बलरामले आफ्नो डायरीमा लेख्न नपाउनु, उसको नाम इतिहासमा दर्ज नहुनु र उसले केवल क्याप्टेनको गोजीमा रहेको कम्पासको मानवीय रूपमा काम गर्नुले औपनिवेशिक शोषणको गहिराइलाई झल्काउँछ ।

लेखिकाले इम्पेरियल एब्युजलाई सूक्ष्म रूपमा प्रस्तुत गरेकी छन् । गोरा शासकहरूले कसरी भारतीयहरूलाई एकअर्काको विरुद्धमा प्रयोग गरे, कसरी उनीहरूको धार्मिक आस्थालाई गुप्तचरीको आवरण बनाए (जस्तै, जपमालाको दानालाई पाइला गन्न प्रयोग गर्नु) र कसरी उनीहरूको योगदानलाई इतिहासको पानाबाट मेटाए भन्ने कुरा उपन्यासको मूल सार हो ।

क्याथरिनको पात्रमार्फत लेखिकाले पहिचानको संकटलाई गजबले उधिनेकी छन् । उनी न पूर्ण रूपमा बेलायती हुन्, न त पूर्ण रूपमा भारतीय । उनले लन्डनमा भोगेको तिरस्कार र तिब्बतमा ‘तारा’ बनेर गर्ने संघर्षले सीमान्तीकृत मानिसको पीडा बोल्छ । तर, उनले मणि नामक गाइडमाथि गरेको झर्कोफर्कोले औपनिवेशक अहंकार झल्काएको छ । बलरामको हकमा पनि उसको अस्तित्व क्याप्टेनको आदेश र ज्ञानप्रतिको प्रेमको बीचमा खुम्चिएको छ ।

क्याप्टेनको साम्राज्यवादी महत्त्वाकांक्षा र क्याथरिनको व्यक्तिगत ख्याति कमाउने इच्छाले कसरी अरूको जीवनलाई जोखिममा पार्छ भन्ने कुरा उपन्यासले देखाउँछ । के एउटा नक्सा वा एउटा पुस्तक कुनै मानिसको जीवनभन्दा बढी मूल्यवान हुन सक्छ ? यो प्रश्न उपन्यासले पटकपटक सोधिरहन्छ ।

हिमालय र तिब्बतको भूगोललाई उपन्यासमा एउटा पात्रको रूपमा प्रस्तुत गरिएको छ । यो भूगोल जति सुन्दर छ, त्यति नै निर्मम र रहस्यमय पनि । बौद्ध दर्शनमा निहित अनित्यको थिमले उपन्यासभरि एउटा दार्शनिक गहिराइ प्रदान गर्छ । ढुंगाहरू, छोर्तेनहरू र लुङ्दरहरूको माध्यमबाट लेखिकाले मानवीय संघर्षलाई आध्यात्मिक मोड दिन खोजेकी छन् ।

इतिहास कसले लेख्छ र कसको कथा छुट्छ भन्ने कुरा उपन्यासको अर्को महत्त्वपूर्ण पक्ष हो । ‘भारतीय जासुस’हरूले बेलायती साम्राज्यका लागि वास्तविक जोखिम मोलेको भए पनि उनीहरू इतिहासमा अज्ञात रहे । उपन्यासले तिनै अज्ञातहरूको स्वरलाई मुखरित गरेको छ ।

दीपा अनपाराको भाषा अत्यन्तै चित्रात्मक छ । उनले हिमालयको चिसो हावा, तिब्बतको धूलो र साङ्पो नदीको गर्जनलाई जीवन्त रूपमा वर्णन गरेकाले पाठक आफूलाई सोही ठाउँमा महसुस रहेको गर्छ । अनपाराको लेखनशैलीमा एउटा खालको गाम्भीर्य र एट्मस्फेरिक प्रभाव छ ।

उपन्यासको संरचना रोचक छ । क्याथरिनको डायरीका अंशहरू (जसमा कतिपय वाक्यहरू धर्सो तानेर काटिएको छ) र बलरामको तृतीय पुरुष दृष्टिकोणबाट बुनिएको कथाले उपन्यासलाई विविधता दिएको छ । संवादहरूमा तत्कालीन समयको छाप पाइन्छ र पात्रहरूको मनोवैज्ञानिक चित्रण निकै गहिरो छ ।

पठनीयताको हिसाबले यस उपन्यासले पाठकलाई अन्त्यसम्म बाँधिराख्छ यद्यपि यो कुनै फास्ट–पेस्ड थ्रिलर भने होइन । यो त बिस्तारै स्वाद लिएर पढ्नुपर्ने कृति हो ।

उत्कृष्ट हुँदाहुँदै पनि द लास्ट अफ अर्थमा कतिपय कमजोरीहरू औंल्याउन सकिन्छ ।

उपन्यासको गति कतिपय ठाउँमा निकै सुस्त छ । विशेषगरी, मध्य भागमा यात्राको वर्णन र पात्रहरूको आन्तरिक मोनोलोगहरू यति लामा छन् कि कथाको मुख्य प्रवाह ओझेलमा परेको जस्तो महसुस हुन्छ । भूगोलको अत्यधिक वर्णनले पाठकलाई कतैकतै झर्को लगाउँछ ।

मानसरोवरमा क्याथरिन र बलरामको भेट दैवसंयोगमा आधारित देखिन्छ र त्यसले कथालाई विश्वसनीयताका हिसाबले कमजोर बनाउँछ । ‘जेन्टलम्यान ब्यान्डिट’ को भूमिकामा रहेको चेतक नामक पात्रको भूमिकालाई लेखिकाले अलि बढी रोमान्टिसाइज गरेकी छन् । यसले उपन्यासको यथार्थपरक धरातललाई केही हदसम्म फितलो बनाउँछ ।

केही सहायक पात्रहरू (जस्तै भरियाहरू) को चित्रण अलि सतही छ । उनीहरू केवल मर्ने वा हराउने पात्रको रूपमा मात्र कथामा आउँछन् । उनीहरूको व्यक्तिगत पृष्ठभूमिमा लेखिकाले पर्याप्त ध्यान दिएकी छैनन् । ती पात्रहरूलाई अलि बढी स्पेस दिएको भए औपनिवेशिक शोषणको कथा अझ बढी मर्मस्पर्शी हुन सक्थ्यो ।

अनि उपन्यासमा तिब्बती मूलका पात्रहरूलाई खासै महत्त्व दिइएको छैन । ज्ञानलाई थुनेर राखेको ठाउँका तिब्बतीहरूको वर्णनमा केही मेहनत गरेकी लेखिकाले बाटोमा भेटिने तिब्बतीहरूको बारेमा खासै केही खुलाएकी छैनन् ।

त्यस्तै ज्ञान र बलरामको सम्बन्धलाई अझ बढी स्पष्टताका साथ प्रस्तुत गर्न सकिन्थ्यो । उनीहरूको प्रेमको गहिराइलाई बुझाउन फ्ल्यासब्याकहरू प्रयोग गरिए पनि ज्ञानको वर्तमान अवस्था र उसको मानसिक विचलनको चित्रण रहस्यमय बनाएर छोडिएको छ । त्यसले पाठकलाई पूर्ण सन्तुष्टि दिँदैन ।

जे होस्, यस उपन्यासले दक्षिण एसियाली इतिहासको एउटा यस्तो पाटोलाई उजागर गरेको छ जसलाई साम्राज्यवादी इतिहासकारहरूले सधैं उपेक्षा गरिरहे । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रको यति सघन र भावनात्मक चित्रण कमै मात्र कृतिहरूमा पाइन्छ ।

उपनिवेशवादको मनोवैज्ञानिक असर, पहिचानको राजनीति र हिमालयको रहस्यमय भूगोलमा रुचि राख्ने जोकोहीलाई यो पुस्तक पठनीय लाग्नेछ । केही प्राविधिक कमजोरीहरूका बाबजुद, अनपाराले एउटा यस्तो संसार सिर्जना गरेकी छन् जहाँ नक्साका रेखाहरूभन्दा मानिसका आँखाहरू बढी सत्य बोल्छन् ।

पृथ्वीको अन्तिम स्थान (लास्ट अफ अर्थ) भनेको कुनै भौगोलिक विन्दु नभई मानवीय संवेदना र न्यायको त्यो सीमा हो जहाँ पुगेर साम्राज्यहरू ढल्छन् र केवल सत्य बाँकी रहन्छ भन्ने कुरा यस उपन्यासले पाठकलाई सोच्न बाध्य बनाउँछ । साम्राज्यवादी भाष्यलाई चुनौती दिने यो कोरा उपन्यास मात्र नभई इतिहासको संशोधन समेत हो ।