नयाँ वर्ष २०८३ का लागि महालक्ष्मी विकास बैंकको विशेष योजना: भ्रमण प्याकेजदेखि सुलभ घरकर्जासम्म

0
Shares

काठमाडौं । अत्याधुनिक र सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न उपहार तथा कर्जा योजनाहरू सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ को रूपमा मनाउने घोषणा गर्दै डिजिटल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको हो ।

बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत कारोबार गर्ने सक्रिय ग्राहकहरूलाई प्रोत्साहन गर्न बैंकले भ्रमण प्याकेजको योजना ल्याएको छ । वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एउटा सफल कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये गोलाप्रथा (लक्की ड्र) बाट ३ जना भाग्यशाली विजेता छनोट गरिनेछ । विजेताहरूले आफ्नो जोडीसहित आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामनाको आकर्षक भ्रमण प्याकेज प्राप्त गर्ने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङलाई थप आकर्षण बनाउन बैंकले फोनप्वाइन्टस् रिवार्ड कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । मोबाइल बैंकिङमार्फत गरिने विभिन्न डिजिटल कारोबारमा ग्राहकहरूले रिवार्ड पोइन्ट प्राप्त गर्नेछन् । उक्त पोइन्टहरू फोनप्वाइन्टस् एपमार्फत जम्मा हुने र निश्चित सर्तअनुसार विभिन्न सामान खरिद वा अन्य कार्यमा प्रयोग गर्न सकिने बैंकले उल्लेख गरेको छ ।

नयाँ वर्षको अवसरमा बैंकले आवासीय तथा व्यापारिक प्रयोजनका लागि ‘महालक्ष्मी घर कर्जा’ समेत सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत घर वा जग्गा खरिद गर्न, भवन निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न वा घर मर्मत तथा थप गर्नका लागि ऋण उपलब्ध गराइनेछ ।

यो कर्जाको मुख्य विशेषता यसको स्थिर ब्याजदर र लामो अवधि हो । ग्राहकले न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्षसम्मको अवधिका लागि कर्जा लिन सक्नेछन् भने ७ वर्षसम्मको लागि ब्याजदर स्थिर रहने बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ देशभर १०३ शाखा कार्यालयहरूमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको यस बैंकले नयाँ वर्षका यी योजनाहरूले ग्राहकलाई थप उत्साहित बनाउने विश्वास लिएको छ ।