ओली, देउवा, प्रचण्ड र बालेनमा को कति धनी ? (सम्पत्तिसहित)

2.4k
Shares

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेपछि यसबारे अहिले चर्चा चलिरहेको छ । यस सामग्रीमा यसअघि प्रधानमन्त्री बनेका तीन शीर्ष नेताहरूसँग प्रधानमन्त्री बालेन शाहको तुलना गरिएको छ ।

आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री र मन्त्रीहरू आर्थिक रूपमा सम्पन्न देखिएका छन् । प्रधानमन्त्री बालेनको बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।

उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् ।

प्रधानमन्त्री बालेनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हीरा लगायतका गरगहना १९० तोला रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैतृक’ रहेको बताइएको छ ।

आमाको नाममा काठमाडौंमा ५ आना जग्गा र घर, धनुषामा डेढ बिगाहामा घर र महोत्तरीमा बाबुको नाममा ९ बिगाहा जग्गा रहेको छ ।

यसअघिका प्रधानमन्त्रीको कति थियो सम्पत्ति ?

ओलीको कति ?

बालेन नेतृत्वको सरकार बन्नुअघि सरकारमा रहेका र जेनजी विद्रोहले सत्ताच्युत भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थिएन । त्यसअघि ओली प्रधानमन्त्री भएको बेला २०७४ चैत २९ गते पेस गरेको सम्पत्ति विवरणलाई यहाँ आधार मानिएको छ ।

त्यतिबेला ओलीले बुझाएको सम्पत्ति विवरणमा भक्तपुर सूर्यविनायक–२ मा ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको उल्लेख छ । यस्तै सोही स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको अर्को घर पनि रहेको छ । दुवै घर स्वआर्जनमा खरिद गरिएको विवरणमा उल्लेख गरिएको थियो ।

यसैगरी राधिका शाक्यकै नाममा झापाको पृथ्वीनगरमा स्वआर्जनले १० कठ्ठा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै स्वआर्जनमा १७–१८ तोला सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नाममा माछापुच्छ्रे बैंकमा ४ लाख, प्रभु बैंकमा ६ लाख तथा ओली आफ्नै नाममा एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको उल्लेख छ ।

ओलीको बैंकमा रहेको नगद तलब भत्ताबापत प्राप्त भएको बताइएको थियो । यस्तै राधिका शाक्यकै नाममा २५ लाखको राष्ट्रिय बचत पत्र रहेको पनि उल्लेख छ ।

राधिका नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि खुलाइएको थियो । २०७२ सालदेखि २०८२ सालसम्म गरेर ओली ४ पटक प्रधानमन्त्री बनेका थिए ।

प्रचण्डसँग ५ तोला सुन

२०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०८१ सालसम्म गर्दा तीन पटक प्रधानमन्त्री बने ।

अन्तिम पटक २०८१ सालमा प्रधानमन्त्री बन्दा सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रचण्डले १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका थिए ।

प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त भएको २५ लाख रुपैयाँ नगद एभरेष्ट बैंकमा मौज्दात रहेको विवरणमा उल्लेख गरिएको थियो । भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा पार्किङ जग्गासहित घर छ । सो घरजग्गा स्वर्गीय पत्नी सीता दाहालको नाममा छ, जुन पैतृक सम्पत्ति हो ।

यस्तै, भरतपुर महानगरपालिका–१२ मा स्वर्गीय पत्नीकै नाममा १ कट्ठा जमिन रहेको र त्यो अंशबाट प्राप्त भएको उल्लेख छ ।

देउवा कति धनी ?

२०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विभिन्न चरणमा गरेर ६ पटक प्रधानमन्त्री बनिसकेका छन् ।

२०७९ पुस १० गते अन्तिम पटक प्रधानमन्त्रीबाट बिदा भएका देउवा पूर्वप्रधानमन्त्रीहरू मध्ये धनीमा पर्छन् । तर २०७९ मा प्रधानमन्त्री बन्दा देउवाको सम्पत्ति विवरण सार्वजनिक गरिएको थिएन ।

२०७४ सालमा प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको विवरण अनुसार डडेलधुरामा बुबाको नाममा ५६ रोपनी जग्गा छ ।

कञ्चनपुरमा १० बिघा, असर्फी १० थान, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोला हीरा, पन्ना–रुबी र मुगाजडित औँठी रहेको उल्लेख थियो । त्यतिखेर उनको नाममा एभरेष्ट बैंकमा १६ लाख ५० हजार नगद रहेको खुलाइएको थियो ।

उनले आरजु देउवाको नाममा रहेको सम्पत्ति र बूढानीलकण्ठस्थित ९६६ वर्गमिटरमा बनेको घरको विवरण भने सार्वजनिक गरेका थिएनन्, जुन जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । द‍ेउवाले श्रीमती आरजु र छोरा जयवीरको नाममा रहेको सम्पत्ति विवरणमा खुलाएका थिएनन् ।

पूर्वप्रधानमन्त्रीहरूले सम्पत्ति विवरण पारदर्शी रुपमा सार्वजनिक नगरेको आरोप लाग्ने गरेको थियो । उनीहरूको जीवनशैली र देखाइएको सम्पत्ति विवरणमा तादम्यता नभएको भन्दै आलोचना हुने गरेको थियो ।

बालेन, ओली, प्रचण्ड र देउवाको सम्पत्ति तुलना

विवरणबालेन्द्र शाहकेपी शर्मा ओलीपुष्पकमल दाहालशेरबहादुर देउवा
💰 बैंक मौज्दात१.४६ करोड५२ लाख (ओली+पत्नी)२५ लाख१६.५ लाख (परिवार बाहेक)
🪙 सुन/गरगहना१९० तोला (पत्नी सविना काफ्ले नाममा)१७–१८ तोला (पत्नी राधिका शाक्य नाममा)५ तोला१३+ तोला (आफ्नै नाममा)
🏠 घरकाठमाडौं (आमा), धनुषा (परिवार)भक्तपुरमा २ घर (आफ्नै)भरतपुर घर (पत्नी नाममा)बूढानीलकण्ठ घर (पत्नी नाममा भएको घरबारे विवरण छैन)
🌾 जग्गाकाठमाडौं ५ आना (आमा), धनुषा डेढ बिघा, महोत्तरी ९ बिघा (बुबा)झापा १० कठ्ठा (पत्नी)भरतपुर १५ कट्ठा (पत्नी)डडेलधुरा ५६ रोपनी (बुबा), कञ्चनपुर १० बिघा (आफ्नै)
📜 अन्य सम्पत्तिआम्दानी स्रोत: सामाजिक सञ्जाल२५ लाख बचतपत्र (पत्नी)उल्लेख छैनअसर्फी, हीरा, रत्न
⚠️ टिप्पणीधेरै अचल सम्पत्ति परिवारको नाममापत्नीको सम्पत्ति समेत जोडिएकोअधिकांश पत्नी नाममापरिवारको सबै सम्पत्ति खुलाइएको छैन