पूर्वप्रधानमन्त्री ओलीको आज अप्रेसन हुँदै

252
Shares

फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुने भएको छ ।

उपचारमा संलग्न चिकित्सक टोलीले यसअघि नै आजका लागि शल्यक्रियाको मिति तय गरेको थियो । सोही अनुसार उनलाई अपरेसन थिएटरमा लगिएको अस्पतालले जनाएको छ ।

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहने टोलीले शल्यक्रिया गरी पित्तथैलीमा रहेको पत्थरी निकाल्नेछ । चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलन दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए । पक्राउ परेकै दिनदेखि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

उनको गिरफ्तारीपछि पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैतमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र सक्न आदेश दिएको थियो । तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न पनि अदालतले निर्देशन दिएको थियो ।

सोही आदेशअनुसार प्रहरीले ओलीलाई अस्पतालबाट उनकी पत्नीको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया आवश्यक रहेकाले उनी अस्पतालमै उपचाररत रहेका थिए ।