अमेरिका र इरानबीचको वार्ता तत्कालका लागि स्थगित, महत्वपूर्ण विषयमा अझै मतभेद

0
Shares

काठमाडौं । अमेरिका र इरानबीच छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा सुरु भएको वार्ता तत्कालका लागि निष्कर्षविहीन टुङ्गिएको इरानी सरकारले आइतबार बिहान जानकारी दिएको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि यी दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष र सबैभन्दा उच्चस्तरीय भेटवार्ता हो। यस वार्ताको नतिजाले हालै भएको दुई हप्ता लामो ‘नाजुक’ युद्धविरामको भविष्य र विश्वको झण्डै २० प्रतिशत ऊर्जा आपूर्ति हुने हर्मुज जलडमरूमध्यको भविष्य निर्धारण गर्नेछ।

इरानले युद्ध सुरु भएदेखि नै यो जलमार्ग बन्द गरिदिएको छ, जसका कारण विश्वबजारमा तेलको मूल्य आकाशिएको छ।

इरानी सरकारले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत १४ घण्टा लामो छलफलपछि वार्ता सकिएको र अब दुवै पक्षका प्राविधिक विज्ञहरूले कागजातहरू आदानप्रदान गर्ने बताएको छ।

‘केही मतभेदहरू कायमै रहे पनि वार्ता जारी रहनेछ,’ इरानले भनेको छ। यद्यपि, अर्को चरणको वार्ता कहिले हुन्छ भन्ने स्पष्ट पारिएको छैन।

वार्तामा अमेरिकाको तर्फबाट उप-राष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ र डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए। इरानको तर्फबाट संसदीय सभामुख मोहम्मद बाकर कलिबाफ र विदेशमन्त्री अब्बास अराक्ची सहभागी थिए।

इरानी प्रतिनिधिमण्डल आफ्ना दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र युद्धमा मारिएकाहरूको शोकमा कालो पोशाकमा उपस्थित भएका थिए।

उनीहरूले अमेरिकी बमबारीमा मारिएका विद्यार्थीहरूका जुत्ता र झोलाहरू समेत वार्ता स्थलमा ल्याएको बताइएको छ। मध्यस्थकर्ता पाकिस्तानका अनुसार वार्ताका क्रममा दुवै पक्षबीच निकै तनावपूर्ण र उतारचढावपूर्ण वातावरण देखिएको थियो।

यसैबीच, अमेरिकी सैन्य स्रोतले हर्मुज जलडमरूमध्यबाट आफ्ना जहाजहरू पार भएको र त्यहाँ बिछ्याइएका ‘माइन’हरू हटाउने तयारी भइरहेको बताएको छ, जसलाई इरानले अस्वीकार गरेको छ।

अमेरिकी सहयोगी इजरायलले भने लेबनानमा हिजबुल्लाहविरुद्धको आफ्नो कारबाही जारी रहने र यो इरान-अमेरिका युद्धविरामको हिस्सा नभएको स्पष्ट पारेको छ।

दुवै देशबीच अझै पनि गहिरो अविश्वास कायमै रहेकाले आगामी दिनमा यो वार्ता कसरी अगाडि बढ्छ भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ।

मतभेदका मुख्य बुँदाहरू
वार्तामा दुवै पक्षका आ-आफ्नै अडान र मागहरू रहेका छन् ।
इरानका मागहरू : विदेशमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा हुनुपर्ने, हर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण हुनुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने र लेबनानसहित समग्र क्षेत्रमा युद्धविराम हुनुपर्ने।

अमेरिकाका मागहरू : हर्मुज जलडमरूमध्यबाट विश्वव्यापी ढुवानीका लागि खुला र सुरक्षित बाटो हुनुपर्ने र इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द हुनुपर्ने।