आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई सरकारको निर्देशन

161
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि धेरै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गर्न तयारी गरिरहँदा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालहरूले कामको चाप र उपलब्ध जनशक्तिको आधारमा आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै, कर्मचारीलाई शनिबारबाहेक सातामा थप एक दिन बिदा दिने व्यवस्था मिलाउन र बिदा दिन नसकिने अवस्थामा सट्टा बिदा उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू हुने मन्त्रालयले जनाएको छ।