कालीमाटी बजारमा अनियमितता भेटियो, कारबाही गर्ने कृषि मन्त्रीको चेतावनी

21
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा इजाजत एउटाको तर सञ्चालन अर्कैले गरेको पाइएपछि कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गिता चौधरीले कारवाही गर्ने चेतावनी दिएकी छन् ।

बिहीबार बिहान मन्त्री चौधरी उक्त बजारको अनुगमन गरेकी थिइन् । अनुगमनको क्रममा स्टँको इजाजत एउटाले लिएको तर सञ्चालन अर्कोले गरेको पाइएको थियो । इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको थियो ।

विषादी परीक्षण बिना नै उपभोक्ताको भान्सासम्म तरकारी पुगेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेकोजस्ता समस्याहरु अनुगमनको क्रममा फेला परेको थियो ।

मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बरको स्टल निरीक्षण गरेकी थिइन् ।

कतिपय स्थानमा एकै दर्तामा दुईदेखि तीन जनाले व्यवसाय सञ्चालन गरेको समेत भेटिएको थियो । यस्तै समस्यै माछा बजारमा पनि भेटिएको थियो ।