वैदेशिक रोजगारीमा जाँदा अब यी कागपत्र अनिवार्य

791
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकका लागि थप कागजात अनिवार्य गरेको छ ।

विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारीका लागि जाने सबै श्रमिकले गन्तव्य मुलुकसम्मको हवाई टिकट, टिकटको बिल–रसिद र म्यानपावर कम्पनीलाई बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद अनिवार्य रूपमा साथमा लिएर जानुपर्ने व्यवस्था लागू गर्ने जनाएको छ ।

यी अतिरिक्त कागजातहरू चैत २९ गतेदेखि अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

साथै, विभागले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्ने इजाजतपत्रप्राप्त संस्थाहरूलाई श्रमिकबाट लिइएको सेवा शुल्कको भौचर/रसिद अनिवार्य रूपमा उपलब्ध गराउन पनि आग्रह गरेको छ।

सरकारले केही दिनअघि नै साउदी, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जान चाहने नेपाली श्रमिकहरूका लागि पुनः ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्थामा कडाइ गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले कुनै म्यानपावरले सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी मागेमा श्रमिकले तत्काल ‘हेलो सरकार’को ११११ र श्रमाधान कल सेन्टरको ११४१ टोल-फ्री नम्बरमा फोन गर्न आग्रह गरेका छन्।

मन्त्री साहले श्रमिकहरूलाई नडराई आफ्ना गुनासो राख्न पनि आग्रह गरेका छन् ।

सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा वैदेशिक रोजगार विभागले तत्कालै म्यानपावर कम्पनीलाई कारबाही गर्ने जनाएको छ ।

यस व्यवस्थाले वैदेशिक रोजगारी प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र श्रमिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।

Skip This