
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण रूपमा ‘फेसलेस’ बनाउँदै असम्बन्धित व्यक्तिहरूको कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै चैत २२ गतेदेखि लागू हुने गरी असम्बन्धित व्यक्तिहरूको कार्यालय प्रवेशमा रोक लगाएको हो ।
कम्पनी स्थापना, प्रशासन तथा खारेजी प्रक्रियालाई थप सुगम, पारदर्शी र प्रभावकारी बनाउन कार्यालयले अनलाइनमा आधारित ‘कम्पनी एडमिनिस्ट्रेसन एण्ड म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ । यस प्रणाली अन्तर्गत प्रत्येक कम्पनीका लागि छुट्टै डिजिटल खाताको व्यवस्था गरिएको छ ।
क्यामिस प्रणाली मार्फत प्रवाह हुने अनलाइन सेवाका लागि सेवाग्राहीहरू अब कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन । कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण सेवा, पत्राचार र विवरणहरू डिजिटल हस्ताक्षरसहित कम्पनीको अनलाइन खातामा स्वचालित रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । नयाँ प्रणाली अनुसार कम्पनी नाम दर्ता र कम्पनी दर्ता सम्बन्धी कार्यहरू १ कार्यदिनभित्रै सम्पन्न हुनेछन् । यस्तै दर्ता पछिका अन्य कार्यहरू ३ कार्यदिन र खारेजी सम्बन्धी कार्यहरू ५ कार्यदिनभित्र अनलाइन प्रणाली मार्फत स्वतः सम्पन्न हुने कार्यालयले जनाएको छ ।
असम्बन्धित व्यक्तिहरूलाई कार्यालय भित्र प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ । अनलाइन प्रणाली बाहेकका अन्य सेवाका लागि आउनुपर्ने अवस्थामा सम्बन्धित व्यक्तिले कम्पनीको आधिकारिक परिचयपत्र वा प्रतिनिधि तोकिएको पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
यसअघि मालपोत कार्यालय तथा यातायात व्यवस्था कार्यालयले पनि असम्बन्धित व्यक्तिलाई प्रवेश निषेध गरिसकेका छन् ।
रजिष्ट्रार बलराम निरौलाका अनुसार कम्पनी प्रशासनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन यो कदम चालिएको हो । कार्यालयले अनलाइन सेवा सम्बन्धी कुनै पनि समस्या वा सहयोगका लागि कार्यालयको फोन नम्बर वा इमेलमा सम्पर्क गर्न सेवाग्राहीहरूलाई अनुरोध गरेको छ ।










प्रतिक्रिया