इरानमा पाइलटको उद्धार गर्नका लागि मात्र अमेरिकी सेना गएको हो कि अर्को छ कारण ?

735
Shares

एजेन्सी । इरानको इसफाहन क्षेत्रमा हालै भएको एक रहस्यमयी अमेरिकी सैन्य अभियानलाई लिएर अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

पेन्टागन र ह्वाइट हाउसले यसलाई एक पाइलटको उद्धारका लागि गरिएको सफल अपरेशन भनी दाबी गरेको भए पनि प्राप्त नयाँ विवरणहरूले यसको भित्री उद्देश्य संवर्धित युरेनियम कब्जा गर्नु रहेको संकेत गरेका छन् ।

सैन्य विश्लेषकहरूले अमेरिकाको आधिकारिक दाबीमाथि गम्भीर प्रश्न उठाएका छन् । ‘पहाडको टाकुराबाट केवल एक जना व्यक्तिको उद्धार गर्न दुईवटा विशाल सी–१३० विमान पठाउनु कुनै पनि सैन्य तर्कले मान्दैन,’ एक रक्षा विशेषज्ञले बताए ।

यो अभियान एक पाइलटको उद्धार मात्र नभएर ठूलो परिमाणमा कार्गो लोड–अनलोड गर्ने उद्देश्यले गरिएको देखिन्छ ।

जानकारहरूका अनुसार, यो मनगढन्ते कथा मात्र हो जसको वास्तविक उद्देश्य इरानको आणविक भण्डारमा छापा मार्नु थियो ।
स्मरण रहोस्, सन् २०२५ को जुन महिनामा इरानले आफ्नो महत्त्वपूर्ण संवर्धित युरेनियमको भण्डार फोर्दोबाट सारेर इसफाहान पुर्याएको थियो । अमेरिकी गुप्तचर निकाय र इजरायली मोसादले लामो समयदेखि यस भण्डारलाई निशाना बनाउने योजना बुनिरहेका थिए ।

रिपोर्टहरूका अनुसार, यसपटक अमेरिकी कमान्डोहरूलाई इजरायली विशेष बलले साथ दिएको थियो । उनीहरूको उद्देश्य इसफाहानको पहाडी इलाकामा लुकाइएको संवर्धित युरेनियम कब्जा गरी सुरक्षित रूपमा बाहिर निकाल्नु थियो ।

तर, अमेरिका र इजरायलको यो योजना सोचे जस्तो सफल हुन सकेन । इरानी सेनाले यस सैन्य घुसपैठलाई तत्कालै पत्ता लगाएको दाबी गरिएको छ ।

इरानी सेनाले अमेरिकी टोलीमाथि भीषण आक्रमण गरेपछि अमेरिकी कमान्डोहरू आफ्ना धेरै उपकरणहरू त्यहीँ छाडेर भाग्न बाध्य भएका थिए । इरानी सूत्रहरूका अनुसार, अमेरिकी टोलीको ठूलो उपकरण नष्ट गरिएको छ र उनीहरूलाई रित्तो हात फर्काइएको छ ।

यो अपरेशन असफल भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प निकै आक्रोशित देखिएका छन् । सामान्यतया यस्ता कमान्डो रेड सफल हुँदा राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै सफलताको घोषणा गर्ने र पाइलटलाई हिरो बनाउने चलन हुन्छ ।
तर, यसपटक ट्रम्पले सफलताको उत्सव मनाउनुको साटो सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा गालीगलौज र अपशब्द प्रयोग गरिरहेका छन् ।

यो अपरेशन सफल भएको भए ट्रम्पले यसलाई आफ्नो कार्यकालको ठूलो रणनीतिक जीतको रूपमा व्याख्या गर्ने थिए भनी विश्लेषकहरूले तर्क गरेका छन् । तर, उनको वर्तमान आक्रोशले योजना असफल भएको स्पष्ट पारेको छ ।

ट्रम्पले अहिले इरानलाई फेरि कडा धम्की दिन थालेका छन् जसले यो सैन्य विफलताको पीडालाई लुकाउन खोजेको प्रस्ट हुन्छ ।

यो असफल अपरेशनले पश्चिम एसियामा फेरि युद्धको कालो बादल मडारिएको छ । इरानले यसलाई आफ्नो सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भन्दै कडा जवाफ दिने चेतावनी दिएको छ । अर्कोतर्फ, अमेरिकाभित्रै पनि ट्रम्प प्रशासनको यो अपरिपक्व रणनीतिको आलोचना हुन थालेको छ ।