
एजेन्सी । ‘अमेरिकाले हर्मुज जलयोजकबाट लगभग शून्य तेल आयात गर्छ र भविष्यमा पनि लिने छैन । हामीलाई यसको आवश्यकता छैन । हामीलाई यसको आवश्यकता कहिल्यै थिएन र अहिले पनि छैन ।’
यो गत बुधबार ह्वाइट हाउसबाट प्राइम–टाइम सम्बोधनका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले बोलेका शब्दहरू हुन् ।
‘त्यो जलयोजक खोल, पागल मूर्खहरू, नत्र तिमीहरू नर्कमा बस्नुपर्नेछ – बस हेर्दै जाऊ !’
यो ट्रम्पले आइतबार ट्रुथ सोसलको एक पोस्टमा लेखेका हुन् ।
आखिर के परिवर्तन भयो त ?
एउटा कुरा त, तेलको मूल्य ।
उनको भाषणको भोलिपल्ट बिहीबार अमेरिकी तेलको मूल्य ११ प्रतिशतभन्दा बढीले वृद्धि भयो र प्रति ब्यारल १११ डलरभन्दा माथि पुग्यो जुन विगत चार वर्षयताकै उच्च मूल्य र इतिहासकै सबैभन्दा ठूलो एक दिने वृद्धिमध्ये एक हो ।
ट्रम्पको भाषणभन्दा ठ्याक्कै अगाडि वेस्ट टेक्सस क्रुड प्रति ब्यारल १०० डलर आसपास कारोबार भइरहेको थियो र युद्ध सुरु हुनुअघि यो प्रति ब्यारल ७० डलरभन्दा कम थियो ।
ट्रम्पको कुरा सही हो अमेरिका हर्मुज जलयोजकबाट आउने पश्चिम एसियाली तेलमा निकै कम निर्भर छ । यो साँघुरो जलमार्गबाट विश्वको २० प्रतिशत तेल ओसारपसार हुन्छ । अमेरिकाले दैनिक उपभोग गर्ने २ करोड ब्यारल कच्चा तेलमध्ये हर्मुजबाट करिब ५ लाख ब्यारल मात्रै पाउँछ जुन निकै कम मात्रा हो र यसलाई अन्य स्थानबाट आउने तेलले प्रतिस्थापन गर्न सकिन्छ ।
तर, ट्रम्पको पछिल्लो गालीगलौजपूर्ण धम्कीले एउटा तीतो सत्यलाई उजागर गर्छः अमेरिकी अर्थतन्त्रको स्वास्थ्य हर्मुज जलयोजकमा राष्ट्रपतिले स्वीकार गरेभन्दा धेरै गुणा बढी निर्भर छ ।
अमेरिकाले पछिल्लो डेढ दशकमा आफ्नो ऊर्जा उद्योगलाई पुनःसंरचना गर्न उल्लेखनीय काम गरेको छ जसको श्रेय हाइड्रोलिक फ्य्राकिङ र तेर्सो ड्रिलिङको विकासलाई जान्छ । विशेषगरी टेक्ससको पर्मियन बेसिनमा काम भइरहेको छ ।
अमेरिकाले अहिले दैनिक करिब २ करोड २० लाख ब्यारल तेल उत्पादन गर्छ जुन दोस्रो ठूलो उत्पादक साउदी अरबको तुलनामा दोब्बर हो र अमेरिकाले दैनिक उपभोग गर्ने कच्चा तेलभन्दा अलि बढी हो ।
अमेरिका एक प्रकारले ऊर्जामा आत्मनिर्भर छ ।
तैपनि अमेरिकाले अझै पनि दैनिक ६० लाख ब्यारल भन्दा बढी कच्चा तेल आयात गर्छ जुन उसले उपभोग गर्ने परिमाणको करिब एक तिहाइ हो । यसले दैनिक करिब ४० लाख ब्यारल तेल निर्यात पनि गर्छ ।
यसको कारण के हो ? सबै तेल उस्तै हुँदैनन् । अमेरिकाले लाइट, स्वीट क्रुड उत्पादन गर्छ जुन पेट्रोल बनाउनका लागि राम्रो हुन्छ तर हिटिङ फ्युल, अस्फाल्ट र डिजेल जस्ता भारी डिस्टिलेटहरूका लागि उपयुक्त हुँदैन । त्यसैले, अमेरिकाले भेनेजुएला र मध्यपूर्व जस्ता हेभी, सावर क्रुड उत्पादन गर्ने ठाउँहरूबाट तेल आयात गर्नुपर्ने हुन्छ ।
साथै, तेलको बजार विश्वव्यापी छ । एउटा क्षेत्रमा आपूर्ति घट्दा त्यसले सबै ठाउँमा असर गर्छ । पिकरिङ इनर्जी पार्टनर्सका संस्थापक ड्यान पिकरिङका अनुसार, आपूर्तिको संकटका बेला तेल आयातकहरू उपलब्ध ब्यारलका लागि प्रतिस्पर्धा गर्छन् जसले गर्दा सबैभन्दा बढी चाहने वा आवश्यक पर्नेका लागि मूल्य बढ्न जान्छ ।
त्यसैले, इरान युद्धको समयमा पनि अमेरिकामा तेलको आपूर्ति राम्रै भइरहेको छ । त्यो ठूलो समस्या होइन । अमेरिका विश्वव्यापी तेल बजारको मूल्य वृद्धिको झट्काबाट अछुतो नरहनु चिन्ताको विषय हो ।
उच्च ऊर्जा मूल्य अमेरिकाको युद्ध र इरानले हर्मुज जलयोजकलाई प्रभावकारी रूपमा बन्द गर्नुको प्रत्यक्ष परिणाम हो । इरानका पावर प्लान्ट र पुलहरू ध्वस्त पार्ने ट्रम्पको धम्कीपछि सोमबार पनि कच्चा तेलको मूल्य उच्च नै रह्यो । अमेरिकामा पेट्रोलको मूल्य औसत ४.११ डलर प्रति ग्यालन पुगेको छ ।
ती कच्चा तेल र ग्यासको उच्च मूल्यले अमेरिकी अर्थतन्त्रमा असर पार्न थालिसकेको छ । पहिलेदेखि नै उच्च मूल्यबाट थकित भएका धेरै मध्यम र न्यून आय भएका अमेरिकीहरू पेट्रोल पम्पको उच्च मूल्यसँग संघर्ष गरिरहेका छन् र कतिपय साना व्यवसायहरू कर्मचारी कटौती जस्ता कठिन निर्णयहरू गर्न बाध्य छन् ।
उच्च मूल्यले पेट्रोल र तेलको माग नै समाप्त पारिदियो भने झन् ठूलो चिन्ताको विषय हुनेछ । यसको परिणामस्वरूप मूल्य घट्न सक्छ तर तेल र ग्यास यति महँगो भयो कि अमेरिकीहरूले आफ्नो गाडीमा तेल भर्न र जहाजमा उड्न नसक्ने भए भने यसले अर्थतन्त्रका लागि ठूलो समस्या खडा गर्न सक्छ ।
३०० खर्ब डलरको अर्थतन्त्रलाई तल झार्नु सजिलो छैन । विगतका ९ मन्दीमध्ये ८ वटा तेलको मूल्यवृद्धिको झड्कापछि आएका भए पनि यो युद्ध पाँच हप्ता मात्र पुरानो हो र यसले मन्दी निम्त्याउन अझै धेरै महिनासम्म चल्नुपर्ने हुन सक्छ ।
तेलको मूल्यमा हुने प्रत्येक १० डलरको वृद्धिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बाट ०.१ देखि ०.४ प्रतिशत अंक कटौती गर्ने वाल स्ट्रीटका विश्लेषकहरू अनुमान गर्छन् । त्यसैले तेलमा भएको वर्तमान ४० डलरको वृद्धिले जीडीपीबाट करिब १ प्रतिशत अंक घटाउन सक्छ जुन सामान्य होइन । तर, यो गम्भीर क्षति पुर्याउन पर्याप्त पनि छैन ।
तर, मूल्य द्रुत गतिमा बढ्यो भने यो अवस्था छिट्टै खराब हुन सक्छ । र तेल मात्रै एकमात्र कारण होइन । डिजेलको मूल्य बढिरहेकाले ट्रकबाट डेलिभरी हुने प्रत्येक सामान महँगो हुनेछ । र जलयोजकबाट आयात हुने आल्मुनियम, हिलियम र मलखाद लगायतका सामानहरूले निर्माण सामग्री, माइक्रोचिप र खाद्यान्नको मूल्य बढाउनेछन् ।
मार्च महिनाको वार्षिक उपभोक्ता मुद्रास्फीति करिब ३.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ जसले अमेरिकी कामदारहरूको गत वर्षको औसत तलब वृद्धिलाई पूर्ण रूपमा खाइदिनेछ ।
‘अमेरिकी अर्थतन्त्रले प्रति ब्यारल १०० डलरभन्दा माथिको तेलका कारण उत्पन्न झड्कालाई केही समयका लागि सहन सक्छ,’ आरएसएम यूएसका मुख्य अर्थशास्त्री जो ब्रुसुएलासले भने, ‘तर, यो १५० वा २०० डलर प्रति ब्यारलमा परिणत भयो भने त्यो अर्कै कुरा हो ।’
हर्मुज जलयोजकलाई लिएर ट्रम्पको नयाँ चिन्ताको यो एउटा ठूलो कारण हुन सक्छ ।
युद्ध सुरु भएदेखि नै ट्रम्पले जलयोजकको बारेमा दुईथरी कुरा गर्दै आएका छन् । उनको प्रशासनले तेल ट्यांकरहरूलाई जलसैनिक सुरक्षा दिने वाचा गरेको छ र समुद्री बिमा कम्पनीहरूबाट कभरेज गुमाएका जहाजहरूलाई बिमाको ग्यारेन्टी दिएको छ । उनका अनुसार, तेल ट्यांकरहरूले साहस देखाउनुपर्छ र पश्चिम एसियाली तेलमा बढी निर्भर देशहरूले आफैं जलयोजक खोल्न मद्दत गर्नुपर्छ ।
‘जाऊ, आफ्नो तेल आफैं लेऊ !’ ट्रम्पले मंगलबार ट्रुथ सोसलमा लेखे ।
ट्रम्पको दिनहुँ परिवर्तन भइरहने बोलीले तेलको मूल्यमा उतारचढाव ल्याइरहेको छ । तर, समग्रमा मूल्य बढिरहेको छ किनभने हर्मुजमा इरानको नियन्त्रण बलियो छ भन्ने प्रस्ट हुँदै गएको छ । र अमेरिका युद्धबाट बाहिरिँदैमा त्यो जलमार्ग पुनः खुल्छ भन्ने निश्चित छैन ।
व्यापारीहरू गत साताको अन्त्यतिर एउटा कुराले चिन्तित भए । ट्रम्प इरानसँगको युद्धबाट बाहिरिने रणनीति दिन असफल भएका छन् र उनको धम्कीले आपूर्तिमा अझ बढी क्षति पुर्याउन सक्छ ।
यसैबीच इरानले जलयोजकबाट सुरक्षित यात्राका लागि टोल (महसुल) लिने बताएको छ जुन शुल्क तिर्न धेरै खाडी देशहरूले अस्वीकार गर्नेछन् । सिटी ग्लोबल इनर्जीका रणनीतिकार एन्थोनी युएनका अनुसार, जलयोजक आंशिक रूपमा मात्र खुल्यो भने पनि विश्वमा दैनिक ४४ लाख देखि ८० लाख ब्यारल तेलको अभाव हुनेछ ।
ट्रम्पले इरानलाई जलयोजक पुनः खोल्नका लागि मंगलबार राति ८ बजेसम्मको समयसीमा दिएका छन् । इरानको प्रतिक्रिया के हुनेछ वा अमेरिकाले कसरी इरानलाई यो खोल्न मनाउन सक्छ भन्ने अझै अनिश्चित छ ।








प्रतिक्रिया