सर्वसाधारणका लागि कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म भर्न पाइन्छ ?

133
Shares

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो ।

जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले त्यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय र ८२ हजार ५०० कित्ता विदेशमा रहेका नेपालीहरूलाई छुट्याइसकेको छ ।

दोस्रो चरणअन्तर्गत ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ भने बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँमा निष्कासन गरिएको हो ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन चैत २५ गतेसम्म दिन सकिनेछ र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा अवधि वैशाख ६ गतेसम्म थपिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल ले ‘केयर एनपी–डबल बी (Issuer)’ रेटिङ दिएको छ, जसले दायित्व वहन क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।

आईपीओको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले दोलखा जिल्लाको साङ्गुखोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र डिस्काउन्ट गरिएको अवधि १५.३६ वर्ष रहेको छ ।

Skip This