वीरगन्ज नाकाबाट ७ महिनामा ४९७ विद्युतीय गाडी आयात, गत वर्षभन्दा ४ गुणा बढी

49
Shares

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ४८ करोड ६४ लाख रूपैयाँ पर्ने ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।

जबकि गत आवको सोही अवधिमा भने ४३ करोड एक लाख पर्ने एक सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट कार्यालयले ३५ करोड ५० लाख राजस्व संकलन गरेको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा ८० करोड ५७ लाख रूपैयाँका हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने ४४ करोड तीन लाख रूपैयाँका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

चालु आवको सात महिनामा १ अर्ब १६ करोड १३ लाखका ६०९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले २ अर्ब ८६ करोड रूपैयाँ राजस्व संकलन गरेको छ । जबकि गत आवको सात महिनामा भने १ अर्ब ५० करोड रूपैयाँका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट ३ अर्ब ७३ करोड रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यहाँबाट चालु आवको सात महिनामा २३ अर्ब ५७ करोड रूपैयाँका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड रूपैयाँका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Skip This