रास्वपाका डोलप्रसाद अर्यालले दिए सभामुखमा उम्मेदवारी

140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको सभामुख पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार सिंहदरवारस्थित संघीय संसद सचिवालय पुगेर अर्यालले महासचिव पदम पाण्डेलाई मनोनयनपत्र बुझाएका हुन् ।

उम्मेदवारी दर्ताका क्रममा रास्वपाका सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम लगायत पार्टीका सांसदहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतिनिधि सभामा हाल रास्वपासँग करिब दुई तिहाइ बहुमत अर्थात् १८२ सिट रहेकाले अर्याल सभामुख बन्नेछन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेताहरूले सदनलाई निष्पक्ष र प्रभावकारी रूपमा सञ्चालन गर्न अर्यालको नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरेका छन् । अर्याल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहिसकेका छन् । साथै, पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका बेला अर्यालले पार्टीको कार्यवाहक नेतृत्व सम्हालेका थिए ।