
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।
चैत २० गते ( मध्यरात) देखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।
नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।
यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९.५० पुगेको छ भने डिजेलरमट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९.५० पैसा कायम भएको छ ।
यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै त्यहाँ डिजेलरमट्टितेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको छ ।
आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ । मूल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६, डिजेलमा १२०.५४ र खाना पकाउने ग्यास ४१६ रुपैयाँ घाटा छ ।








प्रतिक्रिया