
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउन–फागुन) मा शोधनान्तर बचत साढे ६ खर्ब रुपैयाँ नाघेको छ । रेमिट्यान्समा भएको लगातार वृद्धि र डलर बढ्दा पनि वैदेशिक व्यापारमा सामान्य सुधार भए पनि अपेक्षित रूपमा बढ्न नसक्दा शोधनान्तर बचत उच्च देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो बचत ४ अर्ब ६१ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको फागुनसम्म शोधनान्तर बचत ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा थियो । अमेरिकी डलरमा २ अर्ब २९ करोड रहेको शोधनान्तर बचत चालु आवमा उल्लेख्य वृद्धि देखिएको हो ।
चालु खाता बचत पनि साढे ५ खर्ब रुपैयाँ नाघेको राष्ट्र बैंकले जनाएको छ । फागुनसम्म चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको केन्द्रीय बैंकको तथ्यांक छ । फागुनसम्म अमेरिकी डलरमा यस्तो बचत ३ अर्ब ८८ करोड पुगेको छ ।
गत आवको फागुनसम्म चालु खाता १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा भने १ अर्ब ४६ करोडले बचतमा थियो ।
फागुनसम्म खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १२ अर्ब ५९ करोड पुगेको छ । त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी पनि १० अर्ब ८४ करोड रुपैयाँ (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आवको फागुनसम्म प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ थियो ।








प्रतिक्रिया