पुँजीबजारको विषयमा अर्थमन्त्रीले धितोपत्र बोर्ड र नेप्सेसँग लिए ब्रिफिङ

4k
Shares

काठमाडौं । नयाँ सरकार गठन भएसँगै सेयर बजार लगातार घटे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीसँग छलफल गरेका छन् । बिहीबार बिहान अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधार र विकासका लागि सरकार सकारात्मक भएर सहयोग गर्न तयार रहेको बताएको स्रोतले जानकारी दियो ।

अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, राजस्व सचिव भूपाल बराल, धितोपत्र बोर्ड अध्यक्ष सन्तोनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँ र अन्य सरोकारवाला पक्षसमेत सहभागी थिए ।

उक्त छलफलमा अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधार र विकासका लागि सरकार सकारात्मक भएर सहयोग गर्न तयार भएको बताएका हुन् ।

अर्थमन्त्रीले बजार विकास र सुधारका लागि आवश्यक कामहरू के-के हुन सक्छन्, त्यसको अध्ययन गरी कार्यान्वयन गर्न सबैलाई निर्देशन दिए ।

बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता सेयर बजार लगातार घटिरहेको छ । सेयर बजारमा उच्च गिरावट भए पनि सेयर बजारमा चासो दिने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल लगायतका केही समूह र लगानीकर्ताहरूले मंगलबार र बुधबार अर्थमन्त्री वाग्लेसँग भेटेका थिए । त्यसलगत्तै बिहीबार अर्थमन्त्रीले धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वसहित सरोकारवाला समेतलाई राखेर छलफल गरेका हुन् ।