
काठमाडौं । शुक्रबार गठन र शपथपछि प्रधानमन्त्री बालेन शाह नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो । उक्त निर्णयपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सकिने चर्चा चल्यो ।
मन्त्रिपरिषद् बैठक सकिएलगत्तै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आइजीपी, सशस्त्र प्रहरी बलका आइजीपी, गृहसचिव लगायत उच्च सुरक्षा अधिकारीहरूसँग यस विषयमा राति छलफल गरेका थिए । करिब दुई घण्टा चलेको उक्त बैठकपछि सुरक्षा अधिकारीहरू प्रहरी प्रधान कार्यालय नक्साल पुगेर राति अबेरसम्म थप रणनीतिक छलफलमा जुटेका थिए ।
त्यसपछि सुरक्षा निकायले देशभरका प्रहरी कार्याललाई एमाले र कांग्रेसबाट सम्भावित विरोध प्रदर्शन हुन सक्ने भन्दै उच्च सतर्कतामा रहन निर्देशन दिएको थियो भने काठमाडौं उपत्यकाभित्रका प्रहरीलाई समेत ‘अलर्ट’ अवस्थामा राखिएको थियो ।
रातभरको तयारीपछि शनिबार बिहानै जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोली भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेको थियो । प्रहरी टोली पुग्दा घरको मुख्य गेट बन्द थियो र घरभित्र रहेकाले ढोका खोल्न अस्वीकार गर्दा तनावको अवस्थासमेत बनेको थियो।
धकेलाधकेलपछि स्थिति सामान्य बनाउँदै प्रहरीले सम्मानपूर्वक साथ दिन आग्रह गरेको थियो । त्यसपछि प्रहरी अधिकृतहरू ओलीसम्म पुगेको थियो ।
त्यस क्रममा ओलीले प्रहरीसँग सरकार प्रतिशोधमा उत्रिएको टिप्पणी गरेका थिए, ‘बोलाएको भए पनि आउने थिएँ’ ओलीले प्रहरीलाई भनेका थिए । जवाफमा प्रहरीले आफूहरू राज्यको आदेश पालना गर्न आएको बताएको थियो । त्यसपछि ओली आवश्यक औषधि साथमा लिएर प्रहरीसँगै बाहिर निस्किए । घरबाट निस्कने क्रममा उनले पत्नी राधिका शाक्यसँग विदाइ लिँदै अंगालो मारेको भिडियोमा देख्न सकिन्छ । ओली मृगौलाको औषधी सेवन गर्दै आएका छन् । टिचिङ अस्पतालमा केही वर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।
ओली र लेखकलाई पक्राउ गरिएको बारे गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट समेत जानकारी गराएका थिए । कानुनभन्दा माथि कोही नभएको भन्दै उनले यो कसैप्रति प्रतिशोध नभइ केबल न्यायको सुरूवात भएको उल्लेख गरेका थिए ।
‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ उनले लेखेका छन् ।
ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि उनलाई तत्काल टिचिङ अस्पताल लगिएको थियो । सुरुमा अस्पतालको ‘रेड एरिया’स्थित २७ नम्बर बेडमा राखेर स्वास्थ्य जाँच गरिएको थियो ।
त्यहाँ नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले प्रारम्भिक परीक्षण गरेको अस्पताल स्रोतले जनाएको छ। मुटु सम्बन्धी विशेषज्ञ चिकित्सकले पनि उनको स्वास्थ्य अवस्था जाँच गरेका थिए।
रगत परीक्षण, भिडियो एक्सरे तथा अन्य आवश्यक परीक्षणपछि उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा सारेर भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेस्ट पेन’ र ‘पाल्पिटेशन’ देखिएको छ । हाल उनको मुटुको चालको निरन्तर अनुगमनका लागि इसीजी मनिटर जडान गरिएको छ ।
दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका ओलीलाई ‘मल्टिपल हेल्थ इस्यु’ का कारण थप जोखिम हुन सक्ने चिकित्सकहरूको निष्कर्षपछि विशेष निगरानीमा राखिएको बताइएको छ । मिर्गौला सम्बन्धी चिकित्सकहरूले पनि उनको स्वास्थ्य अवस्थाको नजिकबाट अनुगमन गरिरहेका छन् ।
एमालेद्वारा पक्राउको बिरोध, आन्दोलन गर्ने
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भन्दै त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान ओली पक्राउ परेपछि बसेको सचिवालयको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताए ।
‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ,’ उनले भने ।
बैठकले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट बिरोध प्रदर्शन गर्ने लगायतका निर्णय पनि गरेको छ ।
यस्ता छन् एमालेका ४ निर्णय
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।
के गरेको थियो सिफारिस ?
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो। उक्त सिफारिस मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत गरिएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार यस्ता कसुरमा अदालतबाट अनुमति लिएर प्रहरीले २५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न पाउने व्यवस्था छ । सो अवधिभित्र अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ ।
अब दुवै जनालाई अनुसन्धानका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने छ । अदालतबाट अनुमति प्राप्त भएपछि मात्रै थप हिरासतमा राखेर अनुसन्धान अघि बढाइनेछ ।
दफा १८१ अनुसार लापरबाहीपूर्ण कार्यबाट ज्यान गएको ठहर भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । त्यसैगरी दफा १८२ अन्तर्गत हेलचेक्र्याइँका कारण ज्यान गएको अवस्थामा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले ओलीलाई गरिएको गिरफ्तारी कानुनी रूपमा नमिलेको उल्लेख गरेका छन् । आयोगको प्रतिवेदनमा भएका कुरा सबैलाई प्रमाण मानेर सिधा अभियोजन गर्न नमिल्ने उनको भनाइ छ ।








प्रतिक्रिया