रास्वपा बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता छान्ने

154
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीले अपराह्न ४ बजेका लागि केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको हो ।

बैठकमा संसदीय दलको नेता चयनबारे छलफल हुने छ । रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो ।

यसअघि संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजेका लागि तय गरेको छ । शपथग्रहणपछि केन्द्रीय समिति बैठक बसेर पार्टी विधानसम्बन्धी व्यवस्थामा पनि छलफल गर्ने तयारी गरिएको छ ।

रास्वपाको वर्तमान विधानको धारा ६६ (८) का क र खमा संघीय संसदको दल नेता चयन गर्ने प्रावधान उल्लेख छ। उक्त व्यवस्थाअनुसार, संघीय निर्वाचनअघि प्रत्यक्ष र समानुपातिकतर्फ चयन भएका उम्मेदवारहरूमध्ये इच्छुक व्यक्तिबीच निर्वाचन गराई प्रतिनिधि सभा संसदीय दलको नेता चयन गर्ने र त्यसमा पार्टीका सबै साधारण सदस्यहरू मतदाता हुने व्यवस्था रहेको छ।

तर, अब उक्त प्रावधान परिमार्जन गरी वरिष्ठ नेतालाई नै दलको नेता प्रस्ताव गर्ने विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको पार्टीका नेताहरूले बताएका छन् ।

बालेनलाई दलको नेता चयन गरेपछि त्यसको जानकारी राष्ट्रपतिलाई दिएपछि राष्ट्रपतिले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् र भोलि शुक्रबार प्रधानमन्त्रीको शपथको कार्यक्रम छ ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक मत प्राप्त गरेको थियो ।