
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले निर्वाचनमा हार व्यहोरे पनि जनताको बीचमा आफूहरू सबैभन्दा अघि बढेको दाबी गरेका छन् । उनले अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने घोषणा समेत गरेका छन् ।
बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थायित्वका लागि जनताले एउटा दललाई झन्डै दुई तिहाइ बहुमत दिएको तथ्यलाई आफूहरूले स्वीकार गर्ने स्पष्ट पारे ।
उनका अनुसार जनताले आफ्नो पार्टीलाई सडकबाट खबरदारी गर्ने जिम्मेवारी दिएका छन्, र यही म्यान्डेटअनुसार अब पार्टीले सडकबाटै आम नागरिकका मुद्दा उठाउनेछ । राष्ट्रियता, समृद्धि र जनजीवनसँग जोडिएका समस्याहरू समाधान गर्न पार्टीले सशक्त भूमिका खेल्ने उनले बताए ।
अध्यक्ष घिसिङले सरकारका सकारात्मक कामको समर्थन र गलत कदमको कडा आलोचना गर्दै देशलाई सही दिशामा लैजान आफ्नो पार्टी सधैं सक्रिय रहने उल्लेख गरे । उनले निर्वाचनपछि बसेको केन्द्रीय कमिटी बैठकले देशभरका उम्मेदवारसँग समीक्षा गरिसकेको र आगामी कार्यदिशा तय गरिसकेको जानकारी पनि दिए ।
पार्टीले सातै प्रदेशमा भेला गर्ने तालिका सार्वजनिक गरिसकेको बताउँदै उनले बागमतीपछि चैत १४ गते मधेस प्रदेशमा कार्यक्रम आयोजना हुने जानकारी दिए । प्रदेशस्तरीय कार्यक्रमपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने अभियान अघि बढाइएको उनले बताए ।
छोटो समयमै स्थापना र सीमित संगठनका बाबजुद पनि जनताबाट प्राप्त मत र समर्थनलाई पार्टीले उच्च सम्मान गर्ने उनले उल्लेख गरे । चुनावका क्रममा जनताको घरदैलो र डिजिटल माध्यमसम्म पुग्न नसकेको स्वीकार गर्दै उनले अबको एक वर्षभित्र पार्टीलाई सशक्त शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताए ।
डिजिटल प्रचारप्रसारमा देखिएका कमजोरीलाई सुधार गर्दै आगामी दिनमा हरेक नागरिकसम्म पार्टीका एजेन्डा पुर्याउने योजना रहेको उनले सुनाए । साथै, आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा उल्लेखनीय उपस्थिति जनाउने लक्ष्यका साथ कार्यकर्तालाई अनुशासित र मर्यादित ढंगले संगठन निर्माणमा लाग्न उनले निर्देशन दिए ।
घनिभूत छलफलबाट ठोस निष्कर्ष निकाल्दै नयाँ उत्साहका साथ देशभर अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।








प्रतिक्रिया