नेपालमा सार्वजनिक भयो जेको जे सिक्सटी, प्रारम्भिक अफरमा २ लाख छुट, मूल्य कति ?


काठमाडौं । एसपीजी अटोमोबाइल्स प्रालिले जेको जे–सिक्स–टी नामक नयाँ विद्युतीय गाडी २०२६ मार्च २३ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

ओमोडा एन्ड जेको ब्रान्डअन्तर्गत आएको यो ‘बेस्ट–इन–सेग्मेन्ट’ विद्युतीय अल–रोडरले ल्याण्ड रोभर डिफेन्डरबाट प्रेरित बक्सी, रग्ड र आकर्षक डिजाइन प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

रियर–ह्वील ड्राइभ (आरडब्ल्युडी) भेरियन्टमा उपलब्ध यो गाडीको अधिकतम खुद्रा मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर विशेष प्रारम्भिक अफरअन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

यसअघि सार्वजनिक जेको जे–सिक्सको सफलतापछि कम्पनीले भव्य कार्यक्रममार्फत नयाँ मोडेल सार्वजनिक गरेको हो। कार्यक्रममा शारडा समूहका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा, जेकू जे–सिक्सका ग्राहकहरू, सञ्चारकर्मी, इन्फ्लुएन्सर तथा अटोमोबाइल क्षेत्रका विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।

नयाँ जेको जे–सिक्स–टीमा रियर–माउन्ट गरिएको मोटर रहेको छ, जसले २२० एनएम टर्क उत्पादन गर्छ । यसमा लिथियम आयरन फस्फेट (एलएफपी) प्रविधिमा आधारित सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले ४३१ किलोमिटरसम्मको ड्राइभिङ दूरी प्रदान गर्छ।

गाडीमा २२५ एमएम ग्राउन्ड क्लियरेन्स, ४,४३३ एमएम लम्बाइ, १,९१६ एमएम चौडाइ, १,७४१ एमएम उचाइ र २,७१५ एमएम ह्वीलबेस रहेको छ। साथै १९–इन्च टायर, १५.६–इन्च केन्द्रीय टचस्क्रिन, ९.२–इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर र ८ वटा स्पिकर जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ।

यसअघि जेकू जे–सिक्समा २०० एमएम ग्राउन्ड क्लियरेन्स र ४०० किलोमिटर ड्राइभिङ दूरी उपलब्ध थियो। नयाँ मोडेलमा भने ग्राउन्ड क्लियरेन्स र दूरी दुवै बढाइएको छ। कम्पनीका अनुसार जेकू जे–सिक्स–टीले अझ रग्ड डिजाइन, आकर्षक शैली र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा तथा कठिन सडक अवस्थाका लागि उपयुक्त हुनेछ।

जेकू जे–सिक्सले देशभित्र तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाइसकेको छ। त्यसैले नयाँ जे–सिक्स–टी पनि ग्राहकहरूका लागि आकर्षक विकल्प बन्ने विश्वास गरिएको छ। यो गाडी अब देशभर रहेका ओमोडा एन्ड जेकूका आधिकारिक सोरुमहरूमा उपलब्ध छ।

नयाँ मोडेलसँगै एसपीजी अटोमोबाइल्सले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको एसयूभी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। कम्पनीले नवीन प्रविधियुक्त, भरपर्दो तथा साहसिक ड्राइभिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।