
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि उद्योगी प्रबलजंग पाण्डेले एसोसिएट उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको आगामी ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिमबाट एसोसिएट उपाध्यक्ष पाण्डेसहितको प्यानले उम्मेदवारी घोषणा गरेको हो ।
‘भुइँतहका समस्या बुझेको’ र ‘संघर्षबाट खारिएको’ उद्यमीको पहिचानसहित पाण्डेले काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरे।
पाण्डेले आफूलाई वि.सं. २०४६ सालपछिको आर्थिक उदारीकरणको समयदेखि उद्योग क्षेत्रमा सक्रिय रहेको, माओवादी जनयुद्ध र मधेस आन्दोलनका कठिन समयहरूमा पनि उद्योग टिकाएर बसेको एक अनुभवी व्यवसायीका रूपमा प्रस्तुत गरेका छन् ।
लामो समयदेखि औषधि लगायतका विभिन्न उत्पादनमूलक उद्योगमा सक्रिय पाण्डेले निजी क्षेत्रको हकहित र देशको समग्र आर्थिक विकासका लागि ‘दोस्रो चरणको आर्थिक सुधार’को खाकासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू ‘एसी’ कोठामा बसेर नभई ४२ डिग्रीको गर्मीमा उद्योगको भुइँमा काम गरेर आएको बताए। उनले भने, ‘म त्यो उद्योगी हुँ जसले १२ वर्षको जनयुद्ध, तराई आन्दोलन र मधेस अधिकारको आन्दोलनलाई प्रत्यक्ष झेलेको छ। राज्यको गलत नीति र नीतिगत भ्रष्टाचारका कारण ८ वटासम्म मुद्दा खेप्नुपर्दाको पीडा मलाई थाहा छ।’
विशेषगरी पछिल्लो समय चर्चामा रहेको ‘डेडिकेटेड ट्रंक लाइन’ विवादका कारण आफूले विगत १८ महिनादेखि ठुलो मानसिक तनाव भोग्नुपरेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।
दोस्रो चरणको आर्थिक सुधार र रोजगारीको लक्ष्य
पाण्डेले अब नेपालमा ‘दोस्रो चरणको आर्थिक सुधार’को आवश्यकता रहेको औंल्याएका छन् । कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा व्यापक सुधार गरी वार्षिक १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने उनको परिकल्पना छ । नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर वस्तु र सेवा निर्यात गर्ने वातावरण बनाउन आफूले सरकारसँग दरिलो पैरवी गर्ने उनले प्रतिबद्धता जनाए।
पाण्डेका १२ बुँदे मुख्य एजेन्डा:
उनले व्यावसायिक वातावरण सुधारका लागि स्पष्ट १२ बुँदे मार्गचित्र अघि सारेका छन्:
१. नीतिगत स्थायित्व: लगानीकर्तालाई ढुक्क हुने वातावरण बनाउन स्थिर नीतिको वकालत।
२. सरलीकृत कर प्रणाली: झन्झटिलो कर प्रक्रियाको अन्त्य।
३. लगानीमैत्री बैंकिङ नीति: उद्योग र व्यवसायको विस्तारका लागि खुकुलो र सहयोगी मौद्रिक नीति।
४. फेसलेस अडिट: कर प्रशासनमा हुने मानवीय हस्तक्षेप कम गर्न प्रविधिमैत्री अडिट प्रणाली।
५. ढुवानीमा नियन्त्रण: बढ्दो ढुवानी भाडालाई नियन्त्रण गरी लागत कम गर्ने।
६. ऊर्जामा सहुलियत: बेलुकाको समयमा सस्तो बिजुली उपलब्ध गराएर उद्योगलाई प्रोत्साहन।
७. आयकर कटौती: आयकरको दरलाई न्यून गरी व्यवसाय विस्तारमा सघाउने।
८. भ्याट सुधार: बहुस्तरीय भ्याट अन्त्य गरी १० प्रतिशतको एकल सीमा कायम गर्ने।
९. हवाई टिकटमा भ्याट खारेजी: पर्यटन क्षेत्रलाई राहत दिन हवाई टिकटमा लगाइएको भ्याट हटाउने।
१०. श्रम सम्बन्ध: सामूहिक बार्गेनिङको झन्झट अन्त्य गरी मुद्रास्फीतिका आधारमा सरकारले नै न्यूनतम पारिश्रमिक तोक्नुपर्ने।
११. भूतप्रभावी करको अन्त्य: विगतको कारोबारमा पछि आएर कर लगाउने परिपाटी बन्द गर्नुपर्ने।
१२. क्रेडिट रिकभरी एक्ट: उद्योगी व्यवसायीको पैसा नडुब्ने सुनिश्चितताका लागि नयाँ कानुनको माग।
पाण्डेले आफ्नो प्यानलमा दुई महिलासहित विभिन्न क्षेत्रमा सफल भएका अनुभवी उद्योगीहरूको टिम निर्माण गरेको बताए । ‘हाम्रो टिमका हरेक सदस्य भोलि महासंघको नेतृत्व लिन सक्षम हुनुहुन्छ । म पदका लागि मात्र होइन, नयाँ पुस्ताको नेतृत्व विकासका लागि पनि प्रतिबद्ध छु,’ उनले भने।
अहिलेको आर्थिक मन्दी र निजी क्षेत्रको खस्किएको मनोबललाई उकास्न आफ्नो टिमलाई जिताउने उनले आग्रह गरे । महासंघको ६० औं वार्षिक साधारणसभा चैत २९ र ३० गते हुँदैछ ।








प्रतिक्रिया