महासंघ निर्वाचनः वस्तुगत उपाध्यक्ष घिमिरेको यस्तो छ रोडम्याप र टिम


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिमबाट वस्तुगततर्फ शिवप्रसाद घिमिरेले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमका बीच घिमिरे समूहले ‘हामी नै किन?’ भन्ने प्रश्नको उत्तरसहित आफ्नो प्रतिबद्धता पत्र र कार्ययोजना सार्वजनिक गरेको हो ।

निर्वाचनको सरगर्मी बढ्दै जाँदा घिमिरेले महासंघलाई ‘निर्णायक मोड’ मा पुगेको संस्थाको रूपमा चित्रण गर्दै निजी क्षेत्रको खस्किएको मनोबल उकास्न आफूहरू मैदानमा उत्रिएको बताए ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै घिमिरेले अबको नेतृत्व कुरामा भन्दा काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रमैत्री नीति र कर सुधारका विषयमा महासंघ अब औपचारिक टिप्पणीमा मात्र सीमित हुने छैन,’ उनले भने, ‘आवश्यक परे दबाब सिर्जना गर्ने, संवादलाई निर्णयमा बदल्ने र परिणाम सार्वजनिक गर्ने नेतृत्व हामी दिन्छौं ।’

घिमिरे समूहले महासंघलाई केही व्यक्तिको पहुँचमा रहने संस्थाबाट रूपान्तरण गरी ‘सदस्य–केन्द्रित साझा शक्ति केन्द्र’ बनाउने संकल्प रहेको बताएका छ ।

विधानले व्यवस्था गरेका सबै परिषद्, समिति र फोरमहरूलाई सक्रिय बनाउँदै सदस्य संघ–संस्थाहरूको जगमा नीति र बजेट तय गर्ने संरचना बनाइने घिमिरेले बताए ।

घिमिरेले प्रस्तुत गरेको मार्गचित्रमा ‘जेन जी’ युवाहरू, स्टार्टअप, र साना तथा मझौला उद्योग क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

कृषि–उद्योग एकीकरण, निर्यात प्रवर्द्धन, पर्यटन र नवीकरणीय ऊर्जाको माध्यमबाट रोजगारी सिर्जना गर्न ‘कसले, कहिले र कसरी’ काम गर्ने भन्ने स्पष्ट खाका आफूहरूसँग रहेको उनले बताए ।

निजी क्षेत्रको सम्मान र सुरक्षामा आँच आउँदा महासंघ मौन बस्न नहुने तर्क गर्दै घिमिरेले सरकार र नियामक निकायसँग बराबरीको हैसियतमा संवाद र संघर्ष गर्न सक्ने नेतृत्वको आवश्यकता औंल्याए । साथै, चुनावी घोषणापत्रलाई कागजमा मात्र सीमित नराखी वार्षिक मूल्यांकन र सार्वजनिक प्रतिवेदनमार्फत पारदर्शी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

अञ्जन श्रेष्ठ टिममा घिमिरेसहित एसोसिएटतर्फ प्रवल जंग पाण्डे र जिल्ला नगर तर्फबाट दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उपाध्यक्ष बन्ने छन् ।

महासंघको ६० औं वार्षिक साधारणसभा चैत २९ र ३० गते हुँदैछ ।

शिवप्रसाद घिमिरे समूहका उम्मेदवारहरूको नामावलीः
उपाध्यक्ष उम्मेदवार (वस्तुगत तर्फ):

शिवप्रसाद घिमिरे
वस्तुगत महासंघ तर्फका उम्मेदवारहरूः
कृष्णप्रसाद अवाले
विश्वनाथ खनाल
कार्यकारिणी सदस्य उम्मेदवारहरू (वस्तुगत संघ तर्फ):
१. अरनिको राजभण्डारी
२. होमप्रसाद घिमिरे
३. रविन पुरी
४. धर्मराज सापकोटा
५. राजकुमार कार्की
६. संघर्ष विष्ट
७. नानिराज घिमिरे
८. राजेश भक्त श्रेष्ठ
९. वसन्तचन्द्र मरहट्ठा
१०. धनप्रसाद लामिछाने
११. रघुनन्दन मारु
१२. एबबहादुर थापामगर
१३. सुनिता नेम्हाफुकी
१४. ध्रुवबहादुर गौतम