
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन-३ मा नेकपा उम्मेदवार रेनु दाहालले चुनावी खर्च विवरण सार्वजनिक गरेकी छन् ।
सार्वजनिक विवरणअनुसार दाहालले चुनावमा कुल १४ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च गरेको उल्लेख छ । भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा निर्वाचनमा होमिएकी थिइन् ।
निर्वाचनमा उनी सोविता गौतमसँग भारी मतान्तरले पराजित भएकी थिइन् । गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गर्दै विजयी हुँदा दाहालले ३८ हजार ६ सय ६२ मत ल्याएर दोस्रो स्थान हासिल गरेकी थिइन् ।
चुनावी खर्चको हिसाबमा भने दाहाल अघि देखिएकी छन् । गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरिसकेकी छन्, जुन दाहालको खर्चभन्दा पौने ५ लाख रुपैयाँ कम हो ।
दाहालको खर्च विवरणमा सबैभन्दा बढी रकम सवारी साधनमा खर्च भएको देखिन्छ । उनले १५ दिनसम्म दुई वटा सवारी साधन प्रयोग गर्दा ३ लाख रुपैयाँ खर्च गरेकी छन् ।
यसैगरी वडागत प्रचारप्रसारमा २ लाख ८० हजार रुपैयाँ खर्च गरिएको छ भने झण्डा, ब्यानर र पम्प्लेटमा १ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ । नमूना मतपत्र र घोषणापत्र छपाइमा पनि १ लाख ४१ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
यस्तै प्रचार सामग्रीमा १ लाख १३ हजार ५ सय तथा मतदान प्रतिनिधि अनुशिक्षणमा १ लाख ३० हजार रुपैयाँ खर्च गरिएको विवरणमा देखिन्छ । खाना र पानीमा भने ५३ हजार २ सय रुपैयाँ मात्र खर्च भएको उल्लेख गरिएको छ ।
सोविताले चुनावमा ९ लाख ९३ हजार ०४५ रुपैयाँ खर्च गर्दा रेनुले १४ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च गरेकी हुन् ।












प्रतिक्रिया