
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा साढे ४ अर्बको टीभीएस बाइक र स्कुटर बिक्री भएको छ । टीभीएस ब्रान्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बेच्ने जगदम्बा अटो ग्रुपले ६ महिनामै साढे ४ अर्ब ४२ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले गत आवमा ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२४ मा ४ अर्ब ८५ करोड रुपैयाँ र सन् २०२३ मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीको व्यापार गत आवमा ४४ प्रतिशतले बढेको थियो । कम्पनीका अनुसार गत आवमा बजारमा माग बढ्दा व्यापारमा उल्लेख्य वृद्धि भएको छ । त्यस्तै, चालु आवमा पनि माग बढ्दो क्रममा रहेको जनाएको छ ।
चालु आवको ६ महिनाको अवधिमा कम्पनीको नाफा मार्जिन ८.१५ प्रतिशत छ । यस्तो मार्जिन गत आवमा ६.०२ प्रतिशत थियो । कम्पनीको गत आवको अन्त्यसम्ममा ४० करोड ७० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको उल्लेख छ । सन् २०२४ मा २४ करोड ५० लाख रुपैयाँ थियो ।
सन् २०१४ मा स्थापना भएको कम्पनी नेपालको लागि आधिकारिक एसेम्बल युनिट कम्पनी हो । कम्पनीले दुई पाङ्गे र तीन पाङ्ग्रे सवारी साधन उत्पादन गरी टिभिएस ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनी टिभिएस ब्रान्डको सवारी साधन बेच्ने आधिकारिक बिक्रेता पनि हो ।
शंकर ग्रुपको यो कम्पनीमा शाहिल अग्रवालको स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९१ करोड रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया