रुस र चीनले इरानसँग सैन्य सहकार्य गरिरहेको विदेशमन्त्री अराक्चीको दाबी


एजेन्सी । रुस र चीनले सैन्य सहयोग लगायतका विभिन्न माध्यमबाट इरानलाई मद्दत गरिरहेको इरानका विदेशमन्त्री अब्बास अराक्चीले बताएका छन् ।

शनिबार सञ्चारमाध्यम एमएस नाउसँगको अन्तर्वार्तामा अराक्चीले अमेरिका र इजरायलसँगको युद्धको समयमा रुस र चीनलाई तेहरानका रणनीतिक साझेदारको रूपमा वर्णन गरे ।

‘हाम्रो विगतमा घनिष्ठ सहयोग थियो जुन अझै जारी छ र यसमा सैन्य सहयोग पनि समावेश छ,’ विदेशमन्त्रीले भने । इरानले यी देशहरूसँग राजनीतिक, आर्थिक र सैन्य रूपमा समेत राम्रो सहयोग गर्दै आएको उनले थपे ।

शुक्रबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई थोरै मद्दत गरिरहेको हुनसक्ने अनुमान गरे ।

‘मलाई लाग्छ र उनले शायद हामीले युक्रेनलाई मद्दत गरिरहेका छौं भन्ने सोच्छन् होला, हैन त ?’ ट्रम्पले भने । यो भनाइ मस्कोको पूर्ण आक्रमणविरुद्ध प्रतिरक्षा गर्न किभलाई दिइएको सहायताको सन्दर्भमा थियो ।

अमेरिकी विरोधको प्रतिक्रियास्वरूप इरान र रुसले पछिल्लो दशकमा सम्बन्ध सुदृढ गरेका छन् । इरानले रुसलाई आफ्नै देशमा डिजाइन गरिएका शाहेद ड्रोनहरू आपूर्ति गर्दै आएको छ जसलाई मस्कोले युक्रेन युद्धमा प्रयोग गर्छ ।

यसका लागि रुसमै कारखानाहरू समेत स्थापना गरिएका छन् । यी दुई देशले सिरियाको अहिले विघटन भइसकेको बसर अल–असदको शासनलाई पनि समर्थन गरेका थिए ।

सन् २०२१ मा इरानले बेइजिङसँग २५ वर्षे आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो । त्यसको केन्द्रमा चीनलाई आपूर्ति गर्न इरानको प्रचुर तेल भण्डारको बिक्री रहेको छ ।

शनिबारको अन्तर्वार्तामा अराक्चीले महत्त्वपूर्ण जलमार्ग हर्मुज जलयोजकको अशान्तिबारे पनि कुरा गरे । इरान र ओमानको तट हुँदै जाने यस मार्गबाट विश्वको पाँचौं हिस्सा तेल र ग्यास ढुवानी हुन्छ । यस जलयोजकमा बढेको तनावले तेलको मूल्य प्रति ब्यारल १०० डलरभन्दा माथि पुर्याएको छ र विश्वव्यापी आर्थिक मन्दीको खतरा निम्त्याएको छ ।

उक्त जलमार्ग हाम्रा शत्रु र हामीमाथि आक्रमण गर्ने र उनीहरूका सहयोगीहरूका ट्यांकर र जहाजहरूका लागि बन्द गरिएको अराक्चीले बताए । इरानले पर्सियाली खाडीका देशहरूमा मिसाइल प्रहार गर्दै आएको छ जुन देशहरू विश्वव्यापी हाइड्रोकार्बन बजारका प्रमुख आपूर्तिकर्ता हुन् ।

तर उनले थपे, ‘जलयोजक बन्द छैन । यो केवल अमेरिकी र इजरायली जहाज र ट्यांकरहरूका लागि मात्र बन्द छ, अरूका लागि होइन ।’