
काठमाडौं । पूर्वशिक्षामन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा मनोनित भएका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई उक्त जिम्मेवारी नलिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री कार्कीले आइतबार कोषको अध्यक्षमा स्वकीय सचिव श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेपछि आलोचना जारी रहँदा पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।
प्रधानमन्त्रीको उक्त निर्णय पूर्ण रूपमा गलत भएकाले श्रेष्ठले नै उक्त पद नलिनु उपयुक्त हुने पुनको भनाइ छ
‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाका लागि त्यो पद नलिनुहोस् । त्यति सानो लोभका कारण प्रधानमन्त्रीज्यूले कमाउनुभएको ऐतिहासिक इज्जत धुलोमा नमिलाइदिनुहोस्,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीका कारण पुराना राजनीतिक दलहरू कमजोर भएको उल्लेख गर्दै यस्ता प्रवृत्ति दोहोरिए नयाँ शक्तिहरू पनि भविष्यमा कमजोर बन्ने चेतावनी दिएका छन् ।
‘होसियार गराउने मेरो दायित्व हो । त्यो नियुक्ति अब आउने सरकारले विवेकपूर्ण ढंगले गरोस्,’ पुनले भनेका छन् ।







प्रतिक्रिया