
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्को २०८२ चैत १ गते बसेको बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनित गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले अन्य महत्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ । बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर (करिब ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यो अनुदान हरित जलवायु कोषबाट संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) मार्फत प्राप्त हुनेछ, जसले जीविकोपार्जन तथा सम्पत्तिको संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका र ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले कूटनीतिक नियोगहरूलाई परिचालन गर्ने भएको छ ।
यसका लागि रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो र तेल अभिवस्थित राजदूतावासहरू तथा जेद्दा र दुबईस्थित नेपाली महावाणिज्य दूतावासहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
यस्तै, बैठकले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनलाई अध्ययनका लागि ग्रहण गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद्को यस बैठकले राजनीतिक नियुक्तिसँगै दैवी प्रकोप न्यूनीकरण र विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेको देखिन्छ ।







प्रतिक्रिया