
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको सङ्ख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण भएको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टीले नौ तथा श्रम संस्कृति पार्टीले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार/चार सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको आजको निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका र त्यसमध्ये एक करोड ५ लाख ५९ हजार १७ (९४.५५%) मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा एक करोड ८ लाख ३५ हजार २५ (९६.०५%) मत सदर भएको छ ।
उल्लिखित सिट सङ्ख्याअनुसार ऐनको दफा ६०(४), प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई आजै पत्राचार गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचनमा भने रास्वपाले १२५, नेपाली कांग्रेसले १७, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् ।
यस्तो बन्ने छ अब संसद्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सिट प्राप्त गरेको छ। तर दुई सिट कम परेका कारण उसले दुईतिहाइ बहुमत पुर्याउन सकेन। प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक हुन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी कुल ३८ सिट जितेको छ। नेकपा एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ सिटसहित २५ सिट प्राप्त गरेको छ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ९ गरी १७ सिट पाएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्ष ३ र समानुपातिक ४ गरी ७ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष १ र समानुपातिक ४ गरी ५ सांसद निर्वाचित गराएको छ।
यसका साथै म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका महावीर पुनले पनि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछन्।







प्रतिक्रिया