
एजेन्सी । ब्लुमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार, अमेरिकाले समुद्रमा अलपत्र परेका ढुवानीहरू खरिद गर्न ३० दिनको छुट दिएपछि भारतले बिक्री नभएको करिब ३ करोड ब्यारल रुसी कच्चा तेल खरिद गरेको छ ।
रिपोर्टका अनुसार, पश्चिम एसिायबाट हुने तेलको प्रवाहमा अवरोध आएपछि तत्काल वैकल्पिक उपायका रूपमा भारतीय रिफाइनरहरूले उपलब्ध कार्गोहरू सुरक्षित गर्न द्रुत रूपमा कदम चालेका छन् जसमध्ये धेरैजसो पहिले नै एसियाली जलक्षेत्रमा रहेका थिए ।
भारतले यसअघि रुसी तेलको खरिदमा कटौती गरेको थियो र ती आपूर्तिको केही हिस्सा साउदी अरब र इराकको कच्चा तेलले प्रतिस्थापन गरेको थियो । तर, नयाँ दिल्लीले आधिकारिक रूपमा रुसी तेल किन्न बन्द गर्ने कहिल्यै बताएको छैन र ठूलो मात्रामा तेलको प्रवाह जारी नै छ ।
यद्यपि, हालका महिनाहरूमा समग्र आयातको मात्रा घटेको थियो ।
पश्चिम एसियामा फैलिएको द्वन्द्वले परम्परागत आपूर्ति मार्गहरूमा अवरोध पुर्याएको छ । इरानमाथि अमेरिका र इजरायली आक्रमणपछि हर्मुज जलयोजक भएर हुने ढुवानी यातायात गम्भीर रूपमा प्रभावित भएको छ ।
हर्मुज जलयोजक विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक भए पनि भारतको कच्चा तेल आयातको करिब ४० प्रतिशत मात्र यो जलमार्ग भएर आउँछ । तैपनि, यस अवरोधले भारतीय रिफाइनरहरूलाई स्थिर ऊर्जा प्रवाह कायम राख्न वैकल्पिक कच्चा तेलको आपूर्ति सुरक्षित गर्न बाध्य पारेको छ ।
ब्लुमबर्गले उल्लेख गरेका स्रोतहरूका अनुसार, छुटपछि इन्डियन आयल कर्पोरेशन र रिलायन्स इन्डस्ट्रिज लगायतका भारतीय रिफाइनरहरूले स्पट मार्केटमा उपलब्ध लगभग सबै रुसी कार्गोहरू खरिद गरेका छन् ।
धेरैजसो कच्चा तेल ट्यांकरहरूमा लोड भइसकेको थियो र एसियाली जलक्षेत्रमा थियो तर खरीददारहरूसँग सम्झौता हुन बाँकी थियो ।
व्यापारीहरूका अनुसार, इन्डियन आयलले करिब १ करोड ब्यारल खरिद गरेको छ भने रिलायन्सले कम्तीमा अर्को १ करोड ब्यारल खरिद गरेको छ र बाँकी परिमाण अन्य भारतीय रिफाइनरहरूले लिएका छन् ।
प्रस्तावित रुसी कच्चा तेलमा उराल्स, ईएसपीयो र भरान्डे जस्ता विभिन्न ग्रेडहरू समावेश थिए । यसको मूल्य लन्डनको डेटेड ब्रेन्ट बेन्चमार्कभन्दा प्रति ब्यारल २ देखि ८ डलर बढी (प्रिमियम) मा प्रस्ताव गरिएको थियो जुन अघिल्ला महिनाहरूको तुलनामा ठूलो परिवर्तन हो जब रुसी तेल विश्वव्यापी बजार मूल्यभन्दा सस्तो (डिस्काउन्ट) मा कारोबार हुन्थ्यो ।
पश्चिम एसियाको बढ्दो द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा आएको ठूलो अवरोधको बीचमा यो खरिद बढेको हो ।
खाडीका तेल उत्पादकहरूलाई विश्वव्यापी बजारसँग जोड्ने हर्मुज जलयोजक इरानमाथि अमेरिका र इजरायली आक्रमण सुरु भएदेखि प्रभावकारी रूपमा बन्द भएको छ जसले मध्यपूर्वी कच्चा तेलको पहुँच सीमित गरिदिएको छ ।
यस अवरोधले भारत जस्ता आयातकहरूलाई द्रुत रूपमा वैकल्पिक आपूर्ति सुरक्षित गर्न बाध्य पारेको छ ।
सुरुमा भारतीय उपमहाद्वीपबाट टाढा गइरहेका धेरै तेल ट्यांकरहरूले छुटपछि भारततर्फ आफ्नो बाटो मोडेका छन् ।
ब्लुमबर्गले उद्धृत गरेको ढुवानी तथ्यांक अनुसार, तीमध्ये मायलो र सारा नामक जहाजहरूले हालै सिंगापुरबाट आफ्नो गन्तव्य परिवर्तन गरेका छन् र अहिले भारतीय बन्दरगाहहरूतर्फ लागिरहेका छन् ।
युक्रेनमा रुसको आक्रमणअघि भारतले परम्परागत रूपमा धेरै कम रुसी तेल आयात गर्थ्यो तर पश्चिमी प्रतिबन्धहरूले मस्कोलाई भारी छुटमा कच्चा तेल प्रस्ताव गर्न बाध्य पारेपछि खरिद बढ्यो ।
सन् २०२४ को मध्यमा यसको उत्कर्षमा भारतको रुसी तेलको आयात दैनिक २० लाख ब्यारल नाघेको थियो । यद्यपि, वाशिङटनको दबाबमा भारतले कटौती गरेपछि फेब्रुअरीमा खरिद घटेर दैनिक करिब १० लाख ६० हजार ब्यारलमा झरेको केप्लर नामक एनालिटिक्स फर्मको तथ्यांकले देखाएको छ ।
अमेरिकाले यसअघि यस छुटलाई जारी पश्चिम एसिया संकटको समयमा विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउने उद्देश्यले ल्याइएको अस्थायी उपायको रूपमा वर्णन गरेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो कदम अल्पकालीन आपूर्ति अवरोधहरू सम्बोधन गर्ने उद्देश्यले चालिएको बताएकी छन् ।
छुटको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै लेभिटले भनिन्, ‘उनीहरू यो निर्णयमा पुगेका हुन् किनभने भारतका हाम्रा सहयोगीहरू राम्रा पात्र रहेका छन् र उनीहरूले यसअघि प्रतिबन्धित रुसी तेल किन्न बन्द गरेका थिए ।’
उनले थप भनिन्, ‘त्यसैले इरानीहरूका कारण विश्वभर तेल आपूर्तिमा देखिएको यो अस्थायी खाडललाई कम गर्न काम गरिरहँदा हामीले उनीहरूलाई रुसी तेल स्वीकार गर्न अस्थायी रूपमा अनुमति दिएका छौं र यो रुसी तेल पहिले नै समुद्रमा थियो ।’
उनले यो ढुवानीले रुसको राजस्व नबढाउने उल्लेख गर्दै भनिन्, ‘यो पहिले नै समुद्रमा थियो । त्यसैले यो अल्पकालीन उपायले यस समयमा रुसी सरकारलाई उल्लेख्य वित्तीय लाभ पुर्याउनेछ भन्ने हामीलाई लाग्दैन ।’







प्रतिक्रिया