इरान युद्धको पहिलो २ दिनमा अमेरिकाले हतियारमा ५.६ अर्ब डलर खर्च गर्यो

161
Shares

एजेन्सी । तीन अमेरिकी अधिकारीहरूका अनुसार, इरानविरुद्ध सैन्य आक्रमणको पहिलो दुई दिनमा पेन्टागनले ५.६ अर्ब डलर बराबरको गोलाबारुद खर्च गरेको छ ।

अमेरिकी सेनाले अमेरिकाका अत्याधुनिक हतियारहरूको सीमित मौज्दात कति चाँडो रित्याइरहेको छ यस आँकडाले स्पष्ट पार्छ । अमेरिकी संसद्का केही व्यक्तिहरूमा यसले चिन्ता बढाइरहेको छ ।

सोमबार कंग्रेससँग साझा गरिएको यस अनुमानले ट्रम्प प्रशासनले सांसदहरूको चिन्तालाई बेवास्ता गरेको विषयमा नयाँ प्रश्नहरू खडा गरेको छ । सांसदहरूले इरान अभियानले अमेरिकी सैन्य तत्परतालाई द्रुत रूपमा कमजोर पारिरहेको चिन्ता व्यक्त गरेका थिए ।

अधिकारीहरूका अनुसार, ट्रम्प प्रशासनले यसै हप्ता कंग्रेसलाई पूरक रक्षा बजेटको अनुरोध पठाउने अपेक्षा गरिएको छ जुन सम्भवतः अर्बौं डलरको हुन सक्छ । यसले यस अभियानलाई जारी राख्न मद्दत गर्नेछ । यसले पनि धेरै डेमोक्रेटहरूको विरोध सामना गर्नुपर्ने अपेक्षा गरिएको छ । उनीहरूले प्रशासनलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

अमेरिकी हतियारको मौज्दातको अवस्थाबारे द वाशिङ्टन पोस्टको प्रश्नको जवाफमा पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले एक विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयसँग राष्ट्रपतिको छनोटको समय र स्थानमा जुनसुकै मिसन पूरा गर्न आवश्यक पर्ने सबै कुरा छ भनेका छन् ।

यो युद्ध कति समयसम्म चल्न सक्छ भन्ने कुरा अझै अस्पष्ट छ । राष्ट्रपति डोनल्ड ट्रम्पले गत हप्ता यो अभियान एक महिनाभन्दा बढी लाग्न सक्ने बताएका थिए यद्यपि सोमबार उनले सीबीएस न्युजसँग कुरा गर्दै इरानको ठूलो सैन्य क्षतिको उल्लेख गर्दै यो लगभग पूर्ण भइसकेको बताएका थिए ।

रक्षा सचिव पिट हेगसेथ र जोइन्ट चीफका अध्यक्ष जनरल ड्यान केनले गत साता पत्रकारहरूलाई अभियान अब सटिक मार हान्ने हतियारहरूमाथिको निर्भरताबाट हट्दैछ र यसको सट्टा लेजर–निर्देशित बमहरूको प्रयोग बढाइनेछ भनी जानकारी दिए । इरानमाथि हवाई प्रभुत्व जमाएपछि अमेरिकी र इजरायली सेना भित्री क्षेत्रतर्फ अघि बढ्दै गर्दा यस्तो निर्णय लिइएको हो ।

संवेदनशील अनुमानबारे छलफल गर्न नाम नखुलाउने शर्तमा बोलेका अधिकारीहरूका अनुसार, ५.६ अर्ब डलरको यो आँकडाले त्यो परिवर्तन सुरु हुनुअघि गरिएका आक्रमणहरू कति महँगो थिए भन्ने कुरालाई उजागर गर्छ । युद्धको सुरुवाती दिनहरूमा कति र कस्ता प्रकारका गोलाबारुद खर्च गरियो भन्ने कुरा उनीहरूले खुलाएनन् ।

फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि सेनाले सयौं सटीक मार हान्ने हतियारहरू प्रहार गरेको द पोस्टले यसअघि नै रिपोर्ट गरिसकेको छ । त्यसमा उन्नत हवाई रक्षा इन्टरसेप्टरहरू र टमाहक क्रूज मिसाइलहरू समावेश छन् । मध्यपूर्वमा सैन्य कारबाहीको निरीक्षण गर्ने अमेरिकी सेन्ट्रल कमान्डले इरानमा २ हजारभन्दा बढी गोलाबारुद प्रयोग गरेर ५ हजार भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको बताएको छ ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजमा अमेरिकी हतियार मौज्दातको निगरानी गर्ने मार्क क्यान्सियनले बताएअनुसार यी लामो दूरीका गोलाबारुदको सट्टा अन्य हतियार प्रयोग गर्दा प्रत्येक आक्रमणको लागत नाटकीय रूपमा घट्नेछ । अर्थात्, प्रत्येक प्रहारमा खर्च हुने लाखौं डलरबाट घटेर केही अवस्थामा १ लाख डलरभन्दा कममा झर्नेछ ।

आफ्नो मौज्दात रित्तिँदै जाँदा सेनाले इन्डो–प्यासिफिक क्षेत्र लगायत विश्वका अन्य भागहरूबाट सैन्य उपकरणहरू यतातिर ल्याइरहेको छ । इन्डो–प्यासिफिक क्षेत्रमा चीनसँग कुनै पनि द्वन्द्व भएमा पेन्टागनसँग उच्च स्तरका हतियारहरूको अभाव हुने डर सांसदहरूले लामो समयदेखि व्यक्त गर्दै आएका थिए ।

दुई अधिकारीका अनुसार पेन्टागनले दक्षिण कोरियाबाट टर्मिनल हाई एल्टिट्यूड एरिया डिफेन्स (थाड) प्रणालीका केही भागहरू मध्यपूर्वमा सारिरहेको छ । इरानको ड्रोन र ब्यालिस्टिक मिसाइल आक्रमणहरू विरुद्ध आफ्नो रक्षा बलियो बनाउन सेनाले इन्डो–प्यासिफिक र अन्य ठाउँहरूबाट परिष्कृत पेट्रियट इन्टरसेप्टरहरूको आपूर्ति पनि लिइरहेको उनीहरूले बताएका छन् ।

तीमध्ये एक अधिकारीले यो कदम मध्यपूर्वमा हतियारको तत्काल अभावका कारण नभई इरानले आफ्नो प्रतिशोधात्मक आक्रमणको दर नाटकीय रूपमा बढाएमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीका रूपमा चालिएको बताए । द्वन्द्व सुरु भएको एक हप्ताभन्दा बढी भइसक्दा इरानको आक्रमणको दर भने घटेको छ ।

क्यान्सियनले भने, ‘तपाईंले जति धेरै थाड र पेट्रियटहरू प्रयोग गर्नुहुन्छ इन्डो–प्यासिफिक र युक्रेनमा त्यति नै बढी जोखिम बढ्छ ।’ यी दुई हवाई रक्षा प्रणालीहरू विश्वकै सबैभन्दा उन्नत मानिन्छन् ।

द पोस्टका अनुसार, अभियान सुरु हुनुअघि जनरल केनले ट्रम्पलाई इरानसँगको लामो द्वन्द्वले अमेरिकाको सटीक मार हान्ने हतियारहरूको मौज्दात रित्याउन सक्ने चेतावनी दिएका थिए । रुससँगको युद्धमा युक्रेनलाई वर्षौंसम्म गरेको सहयोग र कम्तीमा सात देशहरूमा प्रशासनका अन्य सैन्य कारबाहीका कारण ती हतियारहरू पहिले नै कम भइसकेका छन् । प्रशासनले जनरल केनको यस मूल्यांकनलाई कम महत्त्व दिने प्रयास गरेको छ ।

विश्लेषकहरूले इरानको प्रतिशोधात्मक आक्रमणको परिष्कृत शैली देखेर आश्चर्य व्यक्त गरेका छन् जसमा अमेरिकी र इजरायली हवाई रक्षा प्रणालीका मुख्य भागहरू जस्तै रेडार र कमान्ड–एन्ड–कन्ट्रोल पूर्वाधारहरूलाई निशाना बनाउने र कहिलेकाहीँ तिनलाई विफल बनाउने क्षमता समावेश छ ।

रुसले अमेरिकी सेनाविरुद्धको आक्रमणको सटीकता बढाउन इरानलाई गुप्तचर जानकारी उपलब्ध गराइरहेको छ जसले इरानी सेनाले युद्धमा भोगेको क्षतिको पूर्ति गर्न मद्दत पुर्याउन सक्छ ।

कुवेतसँगको फ्रेन्डली–फायर (भूलवश आफ्नै पक्षबाट भएको प्रहार) को घटनामा तीनवटा अमेरिकी एफ–१५ लडाकु विमानहरू पनि खसेका थिए । क्यान्सियनले ती विमानहरूको लागत प्रति विमान करिब १० करोड डलर पर्ने अनुमान गरेका छन् ।

यस युद्धमा सात अमेरिकी सैनिकको मृत्यु भएको छ जसमध्ये ६ जनाको कुवेतमा इरानी ड्रोन आक्रमणमा र एकजनाको साउदी अरबमा भएको आक्रमणमा मृत्यु भएको हो ।