सम्पूर्ण अपडेट

निर्वाचनबाट एमालेको नीति र नेतृत्व अस्वीकृत भयो, गम्भीर समीक्षा गर्नुपर्छ: योगेश भट्टराई

126
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन परिणामले जनताले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नीति र नेतृत्वलाई अस्वीकार गरेको स्वीकार गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीभित्र नीति र नेतृत्वबारे पुनः गम्भीर बहस आवश्यक भएको उल्लेख गर्दै आम कार्यकर्ता र समर्थकलाई त्यसमा सहभागी हुन आह्वान गरेका छन् ।

भट्टराईले जनताले मतदानमार्फत एमालेप्रति असन्तुष्टि प्रकट गरेको स्वीकार गर्दै अब पार्टीभित्र व्यापक रूपान्तरणको आवश्यकता रहेको बताएका छन् । उनका अनुसार संगठन, कार्यशैली र नेतृत्वमा सुधार गर्दै जनसमर्थन पुनः प्राप्त गर्ने दिशामा एमाले अघि बढ्नुपर्छ।

उनले २३ र २४ भदौपछि पार्टीले अवलम्बन गरेको नीतिप्रति आफूले बैठक र महाधिवेशनमा असहमति राखेको स्मरण गराउँदै, त्यतिबेला अस्वीकृत भएको बहसलाई फेरि खुला गर्नुपर्ने बताएका छन् ।

भट्टराईले पार्टी अस्थायी रूपमा कमजोर भएको तर समाप्त नभएको उल्लेख गर्दै सही नीति, संगठन, नेतृत्व र कार्यशैलीका आधारमा एमाले पुनः उठ्न सक्ने विश्वास व्यक्त गरेका छन्।

उनले पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन, आत्मसमीक्षाको बाटो अपनाएर अघि बढ्न सम्पूर्ण एमाले कार्यकर्तालाई संयम र धैर्यका साथ काम गर्न आग्रह गरेका छन् ।

यस्तो छ योगेशको स्टाटस

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ !
विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्‍यो, पहल लिनु पर्‍यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई मेरा प्रारम्भिक बिचार
निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनु पर्दछ ।

मुलत: भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुन: छलफल र बहस खुला गर्नु पर्दछ ।

हरेक सार्वजनिक संस्था/संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।

पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो । सामुहिक बुद्धि/विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ: म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट (समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फत हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौ । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिँड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।

राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

अन्तमा: राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।