
काठमाडौं । निर्वाचन आयोग नेपालले धनुषा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ ।
आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई पत्र पठाउँदै उम्मेदवारी खारेज सम्बन्धी निर्णयविरुद्ध मुद्दा परेको कारण मत परिणाम घोषणा नगर्न भनेको हो।
आयोगका अनुसार उम्मेदवारको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई हाल विचाराधीन अवस्थामा रहेको छ।
आयोगले अदालतबाट आदेश नआएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न तथा नगराउन अनुरोध गरेको छ।
निर्वाचन आयोगका शाखा अधिकृत (कानुन) अरुण अधिकारीले हस्ताक्षर गरेको पत्रमा अदालतको अन्तिम आदेश नआउँदासम्म मत परिणाम सार्वजनिक नगर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा १ का उमेदवार किशोरी साह कमलको उम्मेदवारी आयोगले खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध कमल अदालत पुगेका हुन् ।








प्रतिक्रिया